चितवन समाचार डटकम,
चितवन, ४ मंसिर । चितवनको भरतपुरमा यही मंसर ६ गतेबाट चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने भएको छ ।
भरतपुरमा रहेको अन्तरराष्ट्रिय प्रदर्शनी स्थलमा तीनवटा सरकारी निकाय र एउटा कृषि व्यवसायी संघ मिलेर यही मंसिर ६ देखि ९ गतेसम्म कृषिका सामग्रीसहित आधुनिक खेती प्रणालीका विषयमा जानकारी दिने उद्देश्यले प्रदर्शनी गर्न लागेको हो । कार्यक्रम बारे जानकारी दिनको लागि बुधबार पत्रकार सम्मेलनमा मेला आयोजक समितिका महासचिव कृष्णराज शर्माले भन्नु भयो ‘२० भन्दा धेरै मुलुकका दुइहजार भन्दा धेरै प्रकारका कृषि औजार प्रदर्शनी राखिने छ ।’
एकै थलोमा कृषि सम्बन्धी आधुनिक प्रविधि औजारका विषयमा जानकारी पाउने भएकाले कृषकका लागि धेरै उपयोगी हुने उहाले बताउनु भयो । प्रदर्शनीले नीति निर्माणका लागि सहयोग पुग्ने, यन्त्रका विषयमा जानकारी हुने, लगानीका अवसरहरु सिर्जना हुने, यन्त्रहरु प्रयोग गर्नको लागि जानकारी हुने, आफूले प्रयोग गर्दै आएका परम्परागत प्रणालीबाट हुने कठिनाइ र आधुनिक प्रणालीबाट हुने फाइदाको विषयमा जानकारी हुने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा एकसय भन्दा धेरै प्रदर्शनीकर्ता रहनेछन् । ७० जिल्लाका ३५ हजार भन्द धेरैले अवलोकन गर्ने र करिब १० करोड बराबरको कारोबार हुने लक्ष्य लिएको प्रर्दशनी समितिका अध्यक्ष स्वयम्भुकृष्ण श्रेष्ठले जानकारी दिनु भयो । यस अघि पहिलो पटक नारायणगढमा, दोस्रो कोहलपुर, काठमाण्डौ, धरान हुने अहिले चितवनको भरतपुरमा गर्न लागिएको छ । भृकुटी मण्डपमा भने कृषि प्रदर्शनी भन्दा अर्कै नाम दिएर प्रदर्शनी गरिएको थियो ।
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश सरकार भूमि व्यवस्था मन्त्रालय र कृषि मेसिनरी व्यवसायी महासंघको संयुक्त रुपमा आयोजना रहेको छ ।


