चितवन समाचार डटकम,
३० कात्तिक । पर्यटन तथा सस्कृति मन्त्री योगेश भट्टराईले भरतपुर विमान स्थल विस्तारको काम पर्यटन मन्त्रालयका सहसचिवको नेतृत्वको समितिले गरिराखेको बताउनु भएको छ ।
जिल्लाका विभिन्न कामको लागि शनिबार चितवन आउनु भएका मन्त्री भट्टराईले पहिलो चरणमा प्राविधिक तथा प्रशासनिक काम गरेको बताउनु भयो । उहाले भन्नु भयो ‘विकास भनेको डोजर आएर खन्ने मात्र होइन, डीपीआर निर्माण, स्थान छनौट, प्रकृयागत कामलाई पनि लिनु पर्दछ ।’
पर्यटन मन्त्रालयका सहसचिव वुद्धीसागर लामिछानेको अध्यक्षतामा एउटा समिति निर्माण गरेर तीन चरणको वैठकसमेत सम्पन्न गरेको जानकारी दिनु भयो । भट्टराइले भन्नु भयो ‘समितिमा नेपाली सेनाको प्रतिनिधि, इन्जिनियर, महानगरको प्रतिनिधि बसेर विस्तारको लागि काम अगाडि वढाउने निर्णय भइसकेको छ । विमान स्थल नजिकैको व्यारेक स्थानान्तरण गर्न नेपाली सेना सकरात्मक भएको छ । सेना हट्न मान्दैनकी भन्ने लाग्छ भने त्यस सोचाइ त्याग्नु पर्दछ, सेनाबाट बाधक भएको छैन ।’
उपयुक्त बैकल्पिक प्रवन्ध गर्नु पर्नेछ, ठाँउ पत्ता लाग्ने बितिकै यहाँको काम अगाडि बढ्छ । ठाँउको निश्चित हुना साथ फिल्डमा काम देखिन्छ मन्त्री भट्टराइले भन्नु भयो । विमान स्थल विस्तारसंगै यस नजिकै बनाएको घरलाई मापदण्डमा ल्याउनु पर्नेछ । नियम मिचेर निर्माण गरेका घरहरु मापदण्डमा ल्याउनु पर्नेछ त्यो पनि विस्तारको काम हो ।
नेकपाका स्थायी कमिटी सदस्य समेत रहनु भएका मन्त्री भट्टराइले देश भित्र बाहिर भ्रमण वर्षको तयारी तिब्र पारेको जानकारी दिनु भयो । उहाले भन्नु भयो ३५÷४० देशमा भएका दुतावास मार्फत तयारी तयारी गरेका छौ । नेपाल भित्र सातै वटा प्रदेशबाट जनवरी १ मा भव्य सुरुवात गर्ने तयारी छ जसलाई आकर्शक बनाउने छौ । भ्रमण वर्षमा के कस्ता सुविधा पर्यटकलाई दिने भन्ने तयारीमा पूर्व तयारीमा छौ । होमस्टे, होटल, अन्य रेष्टुरेन्टहरुमा पनि तयारी छ । नेपाल सरकारले पनि तयारी गरेको छ । नयाँ र पुराना पर्यटकीय स्थानमा जागरण पैदा गर्ने, सेवा सत्कार गर्ने जस्ता कार्यक्रम तय भएका छन् । नेपालमा आएर हिमाल चढ्न गएकाहरुलाई अनिवार्य विमा गर्न लगाउने, अनिवार्य गाइड लैजाने, सुरक्षाको उचित व्यवस्था गर्ने कार्यक्रम रहेको मन्त्री भट्टराइले भन्नु भयो ।
मन्त्रीलाई स्वागत गर्न कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, नेकपाका नेता इश्वरी भट्टराइ, तेजेन्द्र खड्का, वद्री तिमिल्सिना, प्रकास ढुंगाना, धर्म कार्कीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।




