सौराहा २९ कात्तिक । पूर्वी चितवनमा जंगली जनावरबाट हुने सम्भावित क्षतीको लागि बीमा सुरु भएको छ ।
मानब र बन्यजन्तु बीचका द्धन्द्ध न्यूनीकरणको लागि नेपालमै पहिलो पटक चितववनको रत्ननगरमा विमा गरिएको हो । रत्ननगर नगरपालिकाको नेतृत्वमा स्थानीय बाघमारा मध्यवर्ती सामुदायिक वन,मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र अर्थ इन्स्टीच्युटको साझेदारीमा बीमा कार्यक्रम सुरु गरिएको हो ।
मध्यवर्ती क्षेत्र वरपरका विपन्न वर्गलाई लक्षित गरि यो कार्यक्रम सुरु गरिएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले वताउनु भयो । पहिलो चरणमा सौराहा नजिकै रहेको बद्रेनीका १ सय ४९ घरका लागि बीमा गरिएको उहाले बताउनु भयो । जंगली जनावरबाट हुने मानविय ,भौतिक,घर पालुवा जनावर,वालीनालीको क्षतीको बीमा गरिएको हो । शिखर बिमा कम्पनी मार्फत बिमा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाको २५ प्रतिशत, अर्थ ईस्टिच्युटको २५ प्रतिशत, बाघमारा मध्यवर्ती सामुदायिक वन र मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको २५ प्रतिशत र उपभोक्ताको २५ प्रतिशत गरि ७ लाख २५ हजारको बिमा गरिएको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङले वताउनु भयो ।
विमा कार्यक्रम मार्फत व्यक्तीको मृत्यु भएमा १० लाख, घाईते भएमा १ लाख घर तथा भौतिक संरचनामा क्षती भएमा १० लाख, घरपालुवा जनावरको मृत्यु भएमा १२ देखि ४० हजार सम्म र बालिनालीमा क्षती भएमा क्षती भएको ७५ प्रतिशत बिमा मार्फत राहत पाउन मृगकुञ्जका अध्यक्ष बासु ढुंगानाले जानकारी दिनु भयो । मध्यवर्ती क्षेत्रका बासिन्दाहरु घाँस दाउरा गर्न जंगल जाँदा जंगली जनावरको आक्रमणबाट मृत्यु भएमा कतैबाट राहात नपाउने भएपछि यस्तो कार्यक्रम सुरु गरिएको हो ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनका अनुसार बन्यु जन्तु र मानव बिचको द्धन्द्ध न्युनिकरण गर्न यो कार्यक्रमले योगदान पु¥याउने छ । जंगल जाँदा मानिस घाईते वा मृत्यु भएमा कहि कतैबाट राहात पाउदैनथे अब यो कार्यक्रमले राहात मिल्ने छ मेयर वनले भन्नु भयो पहिलो चरणमा बद्रेनीका बासिन्दामा गरेपनि बिस्तारै मध्यवर्ती क्षेत्रका अन्य क्षेत्रमा विस्तार गरिने छ । ३ नम्वर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले वद्रेनीका स्थानीयलाई बीमा लेख हस्तान्तरण गरेका थिए ।
सो अवसरमा मुख्यमन्त्री पौडेलले बीमा कार्यक्रमले स्थानीयलाई संरक्षणमा अझ जागरुक वनाउन मद्दत गर्ने भन्दै यसमा स्थानीयलेनै स्वामित्व लिनु पर्ने धारणा राखे । रत्ननगरका मेयर नारायण वनको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा प्रदेश सांसद कृष्णप्रसाद खनाल,कन्चन खनाल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलिया, वडा नं ७ का वडाध्यक्ष राजन भट्ट, अर्थ इष्टिच्यटकी कार्यक्रम निर्देशक अनुपमा पन्त,शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी निर्देशक दिपप्रकास पाण्डे,राष्टिय विमा समितिका अध्यक्ष चिरञ्जीवी चपाई, मृगकुञ्जका अध्यक्ष बासु ढुंगाना, विश्व वन्यजन्तु कोषको नेपाल प्रमुख डा.धन गुरुङ, नेपाली कांग्रेसका नगर सभापति रुपनराज घिमिरे, निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीलगायतले मन्तव्य राख्नु भएको थियो ।
मेयर वनको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विमला दुवाडीले कार्यक्रमको उद्देश्यका वारेमा जानकारी गराएकी थिइन । त्यसैगरी शुक्रवारनै रत्ननगर नगरपालिकाको विकास निर्माणको बारेमा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । स्थानीय तहको निर्वाचनपछि गरिएको कामको बारेमा मुख्यमन्त्री पौडेललाई जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको हो ।
सो कार्यक्रममा वोल्दै मुख्यमन्त्री पौडेलले रत्ननगरले गरेका कामको अन्य स्थानीय तहले पनि अनुसरण गर्नुपर्ने बताउनु भयो । विकास निर्माण र मानवीय विकासका कामहरुलाई संगसंगै अगाडि बढाएर रत्ननगरले रचनात्मक कामको सुरुवात गरेको उनको भनाई छ । कार्यक्रममा मेयर वनले अहिले सम्म गरेका कामको बारेमा जानकारी गराएका थिए भने उपमेयर मुख्य मन्त्री सहित अतिथिहरुलाई स्वागत गर्नु भएको थियो ।


