जुगेडीका होटलमा लापरवाही, बासी भात र कुहिएका मासु यात्रुलाई

१७ असोज । चितवनको राजमार्ग छेउका होटलमा खाद्य सामग्रीमा चरम लापरवार्ही हुने गरेको पाइएको छ ।
खाद्य सामग्रीको प्रयोगका विषयमा भरतपुर महानगरपालिकाले गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । भरतपुर महानगरपालिकाको वडा नंंं २९ मुग्लिन नारायणगढ सडक खण्डको जुगेडी रामनगर क्षेत्रका होटलमा अखाद्य सामग्री बिक्री गरेको, सडेगलेका सामग्री बिक्रीका लागि राखेको, कुहिएका मासु पकाउन राखेको पाइएको हो ।
पूर्व र पश्चिम नेपालबाट आएका र राजधानीबाट बाहिरीने यात्रुबाहक बसले यहाँ खाना खाने गर्दछन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख बिक्की राउतले भन्नु भयो ‘पकाउनका लागि राखेको तरकारी कुहिएको, बासी खाना दिन तयार पारेको, कुहिएको मासु पकाउन राखेको, अखाद्य सामग्री प्रयोग गरिएको भेटियो ।’
मानव स्वास्थ्यको लागि अनुपयुक्त सामग्री बिक्री गर्न राखेको देखेपछि नष्ट गरिएको उहाले जानकारी दिनु भयो । होटलको भान्छा फोहोर भएको, सफा गर्न नसकेको, शौचालय र भान्छाको दुरी नजिकै रहेको, फोहर दुर्गन्धले प्रत्यक्ष असर पर्ने देखिएको उहाले बताउनु भयो । होटलमा तयारी सामग्री बिक्रीका लागि राखेकोमा पनि मिति गुज्रेको पाइएको छ ।
जुगेडीको एलिना, बुटवल होटल, सागर होटल, नमस्ते नेपाल, खोटाङ एण्ड सगरमाथालगायतका होटलमा फोहोर व्यवस्थापन र खाद्य स्वाच्छतामा खेलवाड गरेको पाइएको हो । दर्जन होटललाई खाद्य सुरक्षालाई ध्यान दिएर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । जुगेडी रामनगर क्षेत्रमा दुइ दर्जन भन्दा धेरै होटलहरु रहेका छन् । यहाँ दिउसो र रातीको समयमा तीनसय भन्दा धेरै सवारी साधनका यात्रुले खाना खाने गर्दछन् ।
जुगेडीको होटलहरु घरेलु तथा साना उद्योग कार्यालयमा समेत दर्ता नभएको पाइएको घरेलु तथा साना उद्योग कार्यालय भरतपुरमा अधिकृत सुर्दशन शर्माले जानकारी दिनु भयो । त्यहाँ रहेका होटलहरुले विना दर्ता मदिराको कारोबार गरेको भेटिएको छ ।
मासु पसललाई जरीवाना
अनुगमन टोलीले नारायणगढका ४ वटा मासु पसललाई कारवाही गरेको छ । बध स्थल, विक्रीकक्ष र पसल अगाडिको क्षेत्रमा फोहोर गर्ने मासु पसलेलाई पहिलो चरणमा ५ हजार जरिवना गरिएको हो । नारायणगढ लायन्सचोकको मिलिजुली बंगुर मासु पसल, आरके बंगुर मासु पसल, न्यु ईन्द्रणी मासु पसल र लक्ष्मी मिट हाउसलाई कारवाही गरेको हो । उनीहरुको पसलमा फोहोर व्यवस्थापनमा ध्यान नदिएको मासु खुल्ला रुपमै विक्री गरेको लगायतका विभिन्न कमिकमजोरी देखिएपछि कारवाही गरिएको हो ।
चाढपर्वमा अनुगमन गरेपनि दोषी देखिएकालाई सामान्य निर्देशन दिने र कार्बाहीको दायरामा नल्याएको भन्दै उपभोक्ताले असन्तुष्टी व्यक्त गरेका छन् । उपभोक्ता अधिकार संरक्षण मञ्चका उपाध्यक्ष विष्णु भुसालले भन्नु भयो चाढपर्वमा मात्र अनुगमन हुन्छ, दोषि देखिएपनि कार्बाही हुदैन यसले गर्दा उनीहरुमा लापारवाही गर्न प्रोत्साहन मिल्छ ।

शेयर गरौ

ताजा अपडेट