चितवन समाचार डटकम,
१० असोज । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफ्नो क्षमता आफैले चिन्न नसक्दा नेपाल गरिब भएको बताउनु भएको छ ।
चितवनको पटिहानीबाट पोखरा जाने बसको आज उद्घाटन गर्दै उहाले नेपालमा सम्भावना धेरै भएपनि यसलाई अर्थमा ढाल्न नसक्दा गरिब भएको बताउनु भयो । उहाले भन्नु भयो ‘ हामीसंग भएका साधनलाई उपयोग गर्ने र यसलाई बिक्री गर्ने क्षमता नहुदा हामी गरिब भएका छौ ।’ काम भन्दा कुरा धेरै गरेर नेपाली पछाडि परेको भन्दै उहाले सानै वस्तुबाट भएपनि मेहनत गर्नु पर्ने बताउनु भयो ।
हामी आन्दोलन विरोध गर्न सक्षम भयौ तर क्षमता पहिचान गरेर काम गर्न सक्षम भएनौ उहाले भन्नु भयो ‘अब विरोध हड्ताल होइन काम गरेर अर्थ संकलन गरौ अनि मात्र धनी भइन्छ । ’
पर्यटकीय क्षेत्रले अथाह सम्भावना बोकेको नेपालको प्रकृतिलाई हामीले प्रचार प्रसार गर्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नु भयो । पटिहानीबाट यहाँको प्रचारसंगै पर्यटकलाई भित्राउन गरेको प्रयासको प्रसंम्सा गर्नु भयो ।
उद्घाटन कार्यक्रममा नेता पाण्डेले नेपालको आर्थिक अवस्था सुधारगर्नको लागि पर्यटकीय क्षेत्रको विकास आवश्यक रहेको बताउनु भयो । ‘घुम्न आउने पर्यटकलाई सडक, साधन, होटल, रमाइलो गर्ने स्थान, हेर्ने नयाँ ठाँउले अत्यन्त महत्व राख्दछ ।’ पूर्वाधार भएमा मात्र हामीले धेरै पर्यटक भित्राउन सक्छौ । चितवनको सौराहा, पटिहानी, मेघौली, नारायणी नदी किनार, लोथर यहाँको निकुञ्जको विषयमा प्रचार प्रसार आवश्यक रहेको बताउनु भयो ।
नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी पर्यटकीय नगरी पटिहानीबाट पोखरासम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको हो । भरतपुर महानगरपालिका वडा नं. २२ मा पर्ने पटिहानीदेखि पोखरासम्म चल्ने बस सेवा शुक्रबारबाट सञ्चालनमा आएको हो ।
चितवनको सौराहाबाट यस अघि पर्यटकीय बसहरु दर्जन भन्दा धेरै सञ्चालनमा आएको थियो । पश्चिम चितवनको मेघौली, पटिहानी पनि पर्यटकीय क्षेत्रको रुपमा विकसित रहेको छ । नेपाल सरकारले नयाँ पर्यटकीय गन्तव्यको रुपमा पटिहानीलाई समेटेको छ ।
चितवनको पटिहानी दोस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको पोखरालाई जोड्न बस सेवा सञ्चालनमा ल्याएको भरतपुर महानगरपालिका वडा नंं २२ का अध्यक्ष विष्णु महतोले जानकारी दिनु भयो । सौराहापछि पटिहानी, मेघौली पर्यटकीय गन्तब्यका रुपमा लिने गरिन्छ ।
कसरा ट्राभल्सले सुरु गरेको बस हरेक दिन पोखराबाट विहान ७ बजे पटिहानीका लागि छुट्ने छ भने, अर्को बस पटिहानीबाट सोही समयमा पोखराका लागि छुट्ने छ । बसको सिट क्षमता ३८ छ । वडा नं. २२ का वडाध्यक्ष महतोले पोखरा र पटिहानीका कनेक्टिभिटीलाई बढाउन बस सेवा सुरु गरिएको जानकारी दिनु भयो । पोखरा आउने पर्यटकहरुलाई पटिहानी ल्याउन र पटिहानीमा भएका पर्यटकलाई पोखरा लैजान तथा पर्यटकहरुको बसाईलाई लम्ब्याउन बस सेवा प्रभावकारी बन्ने उहाले बताउनु भयो ।
पटिहानीमा पब्लिक प्राइभेट पार्टनरसीपमा सानो आकारको बसपार्क सञ्चालन गर्ने तयारी पनि अघि बढेको छ । त्यसका लागि दुई बिगाह जग्गा व्यवस्थापन कार्य अघि बढेको जानकारी दिनु भयो । महानगरपालिका, वडा र निजी होटल व्यवसायीको संयुक्त लगानीमा सवारी साधानहरु समेत राख्न मिल्ने गरी बसपार्क बनाइने छ । अब छिट्टै पटिहानीबाट लुम्बनी र लुम्बनीबाट पटिहानी जोड्ने गरी अर्को बस सेवा पनि सञ्चालन गर्ने योजना रहेको महताले जानकारी दिनु भयो ।
पटिहानीमा बार्षिक ७० देखि ८० हजार पर्यटक आउँछन् । अघिल्लो वर्षभन्दा गत वर्ष २५ प्रतिशतले पर्यटक बढेको व्यवसायीहरुको भनाइ छ । यहाँ ८ बटा ठूलो, दुई दर्जना मझौला होटल छन् ।
उद्घाटन कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी, वडा अध्यक्ष, पर्यटन क्षेत्रसंग सरोकार राख्नेहरुले पर्यटकीय विकासको विषयमा मन्तव्य राखेका थिए । कार्यक्रममा भरतपुर महानगरपालिका निमित्त कार्यकारी अधिकृत सिर्जना थपलिया, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती, भरतपुर महानगरका प्रवक्ता अरुण पिडित भण्डारी, नेकपा भरतपुर २२ का अध्यक्ष रामहरि सेढांई, नेपाली कांग्रेसका वडा सभापति कुमार प्रसाद थपलिया, साविक पटिहानी गाविसका पुर्व उपाध्यक्ष रामजी प्रसाद सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।


