खसीबोका आयातामा कडाइ : दशैमा मासु महंगो हुने

 

काठमाण्डौं १६ भदौ । सरकारले औपचारिक घोषणा विनै खसीबोका आयातमा कडाइ गरेपछि दशैंमा मासु महँगो हुने भएको छ। व्यवसायीहरूका अनुसार दशैंमा खसीको तयारी मासु प्रतिकेजी १५०० भन्दा माथि पुग्न सक्नेछ।
हाल काठमाडौं उपत्यकामा दैनिक १ हजार २०० खसी बोकाको माग छ, जसको ४० प्रतिशत अंश भारतीय आयातबाट धानिएको छ। केही समय यता सरकारले भारतबाट आयात हुने खसीबोकाको आयातमा कडाइ गरिरहेको छ। चौपाया खरीद विक्री संघका अनुसार दशैं तिहारको समयमा उपत्यकामा मात्रै करीब ५० हजार खसीबोकाको माग हुन्छ। उक्त मागलाई धान्न सक्ने गरी स्वदेशमा खसीबोकाको उत्पादन हुन थालेको छैन।
सरकारी कडाइले गर्दा दशैंमा भारतबाट लुकिछिपी खसीबोका ल्याइने र मासुको मूल्य बढ्ने सम्भावना रहेको संघका संरक्षक दीपक थापाले बताए। उनका अनुसार हाल व्यवसायीहरूले भारतबाट लुकिछिपी खसीबोका ल्याएर नेपालका भन्दै बेचिरहेका छन्। यसले गर्दा दशैंमा जिउँदो खसीको मूल्य प्रतिकिलो ८०० र तयारी मासु प्रतिकेजी १५०० भन्दा माथिसम्म पुग्न सक्ने थापाले बताए। हाल उपत्यकामा जिउँदो खसीको मासु प्रतिकेजी ६०० र तयारी मासु प्रतिकेजी १३०० छ।
खसीबोका व्यवसायी रामबहादुर कार्की आयातमा कडाइ गरिएकाले नेपाली कृषकलाई फाइदा हुने बताउँछन्। उनले भने, ‘स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नकै लागि सरकारले खसीबोका आयातमा कडाइ गरेको हो।’
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल भने मन्त्रालयले खसी बोका आयातमा कडाइ गरेको स्वीकार्दैनन्। उनले भारतबाट आयात हुने खसीबोकाको क्वारेन्टाइन परीक्षण मात्र गरिएको बताउँदै भने, ‘अस्वस्थ खसीबोकाको आयातमा मात्र रोक लगाइएको हो।’ क्वारेन्टाइन परीक्षण गर्न भने नरोकिने उनको भनाइ छ।
दशैंमा भेडारच्याङ्ग्राको अभाव हुन नदिने गरी सरकारले तयारी गरेको ढकालको दाबी छ। सरकारले चीनतिरको नाका केरुङबाट आउने भेडारच्याङ्ग्राको आयातमा सहजीकरण गर्ने बताउँदै आएको छ।
सरकारले क्वारेन्टाइन परीक्षणमा कडाइ गरेसँगै गत आर्थिक वर्ष २०७५र७६ मा खसी बोकाको आयातमा उल्लेख्य कमी आएको छ। भन्सार विभागको तथ्यांक अनुसार सो वर्ष नेपालमा २ अर्ब ६५ करोडको खसीबोका आयात भएको थियो। अघिल्लो आवको तुलनामा यो २० प्रतिशत कम हो।
आव २०७१र७२ मा १ अर्ब ६८ करोडको आयात भएकोमा २०७२र७३ मा ६० प्रतिशतले बढेर २ अर्ब ६८ करोडको आयात भएको थियो। २०७३र७४ मा २७ प्रतिशतले आयात घटेको थियो भने २०७४र७५ मा ७० प्रतिशतले बढेको थियो। आर्थिक अभियान दैनिकमा खबर छ।

शेयर गरौ

ताजा अपडेट