बढ्ने भयो दुधको मूल्य : मूल्य वृद्धि गर्न कार्यदल गठन

काठमाडौँ, ३० साउन  । कृषि तथा पशुपक्षी मन्त्रालयले दूधको मूल्य वृद्धि गर्ने भएको छ । मन्त्रालयले दूधको मूल्य वृद्धि गर्ने सैद्धान्तिक सहमति गरी मूल्य निर्धारणका लागि कार्यदलसमेत गठन गरेको छ ।
राष्ट्रिय दूध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा गठन भएको कार्यदललाई मन्त्रालयले दूधको मूल्य निर्धारण गर्न नौ बुँदे कार्यविधिसहितको जिम्मेवारी दिएको छ । मूल्य निर्धारणका आधारहरू विश्लेषण गरी दूधको मूल्य निर्धारण गर्ने, क्षेत्रगत रूपमा दूधको उत्पादन लागत विश्लेषण गर्ने, दूध ढुवानी, चिस्यानलगायतका व्यवस्थापकीय खर्च, फ्लस (धेरै दूध उत्पादन हुने समय) तथा सुक्खा (कम दूध उत्पादन हुने समय) सिजनको प्रभावलाई समेत विश्लेषण गरेर दूधको मूल्य निर्धारण गर्ने कार्यविधिमा उल्लेख छ ।
केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष नारायणप्रसाद देवकोटाका अनुसार मूल्य वृद्धिका लागि कार्यदलले परिमाणात्मक तथा गुणात्मक आधारमा दूधको गुणस्तरको पनि विश्लेषण गर्नेछ । आन्तरिक तथा बाह्य बजारसँग प्रतिस्पर्धाको अवस्था पनि हेरिनेछ । कार्यदलले मुद्रास्फीति दर र विगत दुई वर्षको बजार मूल्य वृद्धिको पनि विश्लेषण गरिनेछ । विगत पाँच वर्षका दूधको मूल्यको अध्ययन गर्दै दूधको मूल्य समायोजनमा उपभोक्तामा पर्ने असरको पनि विश्लेषण गरेर दूधको मूल्य निर्धाण गरिने कार्यदलका सदस्यसमेत रहनुभएका सङ्घका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।
साढे दुई वर्षदेखि दूधको मूल्य नबढेको सहकारीमा आबद्ध किसानले चरणबद्ध आन्दोलन गर्दै आइरहेको थिए । सहकारीले प्रतिलिटर १० र डेरी उद्योगीहरूले आठ रुपियाँ मूल्य वृद्धि हुनुपर्ने माग गरेको छन । नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले दूधको मूल्य दुई किसिमले वृद्धि गर्ने फ्लस सिजनका लागि प्रतिलिटर आठ र सुक्खा सिजनका लागि १० रुपियाँ वृद्धि गर्ने छलफल भइरहेको बताउनुभाये तर कति मूल्य निर्धारण गर्ने त्यसको टुङ्गो नलागेको उहाँले बताउनुभयो । अहिले दूधको मूल्य प्रतिलिटर ४५ देखि ५० रुपियाँ रहेको छ ।
दुई वर्षको अवधिमा धेरै वस्तुको मूल्य वृद्धि भएको छ तर दूधको मूल्य वृद्धि नहुँदा किसान तथा डेरी उद्योगी मर्कामा परेको महासचिव दाहालले बताउनुभयो । दूधको मूल्य वृद्धि गर्नु पर्छ भनी सरकारसँग पटकपटक आग्रह गर्दै आएको तर अहिले आएर बल्ल तयार भएको उहाँले बताउनुभयो । कार्यदलले शुक्रबार प्रतिवेदन बुझाएपछि तोकिएको मूल्य भदौ १ गतेदेखि लागू हुने नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले जानकारी दिनुभयो ।
राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य तथा दूध उत्पादक किसान भगीरथ तिमिल्सिनाले दूधको लागत मूल्य प्रतिलिटर ६३ रुपियाँ पर्दछ तर किसानले ४८.३६ रुपियाँ मात्र पाएको त्यसले गर्दा किसान मारमा परेको बताउनुभयो । अहिलेको मूल्यले किसानको लगानी पनि उठ्दैन, उहाँले भन्नुभयो, मूल्य वृद्धि गर्न सरकार तयार भएको छ हेरौँ कति बढ्छ । दाना र चोकरको मूल्य वृद्धि भएर लागत बढ्दै गइरहेको छ तर दूधको मूल्य वृद्धि नहँुदा किसानलाई घाटा भएको उहाँले बताउनुभयो ।
अहिले सुक्खा मौसममा दूधको उत्पादन कम भइरहेको हुनाले उद्योगीहरूले भारतबाट धूलो दूध आयात गर्न पाउनुपर्ने सरकारसँग माग गरिरहेका छन् तर कृषिमन्त्री चक्रपाणि खनालले दूधको अभाव नेपालबाट पूरा गर्न भन्नुभएको छ । केही दिन अभाव भए फरक पर्दैन तर देशमै कहाँ कहाँ दूध पाइन्छ ती ठाउँबाट खोजेर पनि दूध आपूर्ति गर्ने उहाँले बताउनुभएको छ ।
देशमा पाँच लाख ५० हजार लिटर दूधको आवश्यकता छ तर उत्पादन तीन लाख ६० हजार मात्र भइरहेको छ । निजी डेरी उद्योगीले मात्र दैनिक दुईदेखि अढाई लाख लिटर दूध बिक्री वितरण गर्दै आइरहेका छन् ।

गोरखापत्र दैनिक बाट

शेयर गरौ

ताजा अपडेट