सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको राप्रपाको निष्कर्ष

काठमाडौं, ८ असार ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको निष्कर्ष निकालेको छ । राप्रपाको दुई दिनसम्म चलेको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले सो निष्कर्ष निकालेको पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका छन् ।

‘सरकारको कार्यशैली सर्वसत्तावाद तर्फ उन्मुख हुँदै गएकोमा राप्रपा बैठकले चिन्ता व्यक्त गरेको छ । संवैधानिक निकाय, राष्ट्रियस्तरका आयोग, प्रशासन, शैक्षिक संस्था, कुटनीतिक नियोग र सुरक्षा संयन्त्रमा समेत पार्टीप्रति आस्था राख्ने व्यक्तिहरु छानी छानी राख्ने कार्य भईरहको छ’, विज्ञप्तिमा भनिएको छ, ‘शक्ति पृथकीकरणको मान्यतालाई आघात पुर्‍याउंदै न्यायपालिकालाई समेत पार्टीकरण गर्ने प्रयास भइरहेको छ । भ्रष्टाचारको माध्यमबाट अकुत सम्पति जोडने काम अनवरत जारी रहेको छ । अनुसन्धान र कार्वाही गर्ने निकायहरुलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत केन्द्रिकृत गरिएको छ ।’

राप्रपाले राज्यको चौथो अङ्ग आमसञ्चारलाई मिडिया काउन्सिल विधेयकमार्फत नियन्त्रण गर्ने दुष्प्रयास भएको पनि उल्लेख गरिएको छ । यस्तै बैठकले पार्टीको केन्द्रीय महाधिबेशन आगामी २०७७ जेठ महिनामा गर्ने निर्णय गरेको छ ।

बैठकले संगठित र योजनावद्ध धर्म परिवर्तन भईरहेको ठहर गर्दै धर्म परिवर्तन गराउनेलाई कार्बाही गर्न र यस्ता कार्यलाई निरुत्साहित गर्न सरकारसँग माग पनि गरेको छ । बैठकले राप्रपा (संयुक्त) सहित समान विचारधारा भएका शक्तिहरुसँग पार्टी एकता गर्न पहल गर्ने, २०७६ लाई ‘संगठन निर्माण वर्ष’ का रुपमा कार्यान्वयन गर्नेलगायतका निर्णय पनि गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आइतबार सम्पन्न बैठकमा पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु, प्रदेश कार्य समितिका अध्यक्षहरु, भातृ संगठनका अध्यक्षहरु र ७७ वटै जिल्लाका जिल्ला अध्यक्षको सहभागिता थियो ।

शेयर गरौ

ताजा अपडेट