प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय अधिवेशन वुधबारदेखि

 

काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आगामी नोभेम्बर ४ र ५ (कात्तिक १८ र १९) गते काठमाडौंमा हुने भएको छ। ‘श्रमिक अधिकार, वंशजको नागरिकताको सुनिश्चितता–समृद्ध नेपाल, सुखी नेपाली हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित आयोजना हुने अधिवेशनमा विश्वका विभिन्न देशबाट ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ।

अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ। अधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सदस्य एवं प्रचारप्रसार उपसमिति सदस्य घनश्याम भट्टराईले जानकारी दिनुभयो।

मञ्चले विश्वभर छरिएर रहेका नेपालीलाई संगठित गर्दै उनीहरूको हकहित, अधिकार र पहिचानको संरक्षण गर्नुका साथै नेपालको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ। हाल ३९ देशमा राष्ट्रिय कमिटी गठन भएको र ६० भन्दा बढी देशमा सम्पर्क सञ्जाल विस्तार भएको मञ्चले जनाएको छ।

अधिवेशनमा प्रवासमा रहेका नेपाली श्रमिकका अधिकार, वंशजको नागरिकताको निरन्तरता, संवैधानिक तथा राजनीतिक अधिकार र गैरआवासीय नेपाली संघलगायत संस्थासँगको सम्बन्ध तथा सहकार्यका विषयमा छलफल हुनेछ। विभिन्न देशमा रहेका राष्ट्रिय कमिटीबीच समन्वय र संगठनलाई थप सुदृढ बनाउने विषयलाई पनि प्राथमिकता दिइने जनाइएको छ।

यसैबीच, अधिवेशनको अवसरमा मञ्चले विश्वव्यापी मिडिया कन्टेन्ट क्रिएसन प्रतियोगिता आयोजना गर्ने भएको छ। अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट सिर्जनाकर्मीलाई ७०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

मञ्चका प्रचारप्रसार उपसमिति संयोजक भक्तबहादुर गुरुङद्वारा जारी विज्ञप्तिमा अधिवेशन सफल बनाउन विश्वभरका राष्ट्रिय कमिटी, नेता, कार्यकर्ता, सदस्य तथा शुभेच्छुकलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।

शेयर गरौ

ताजा अपडेट