विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत गर्न मुख्यमन्त्रीको निर्देशन

 

हेटौँडा, १० भदौ ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवामा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बुधबार बसेको बैठकमा उहाँले विपद्मा परेका नागरिकको उद्धार तथा राहतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको हो ।
बैठकमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, मन्त्रालयका सचिव तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिको सहभागिता थियो । बैठकले बाढीबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने खाद्यान्न, खानेपानी, स्वास्थ्य उपचार, अस्थायी आवास तथा अन्य राहत सामग्रीको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा छलफल गरेको छ ।
मुख्यमन्त्री थापामगरले घाइते तथा विपद्मा परेका नागरिकको तत्काल उद्धार गरी राहत वितरण गर्न, प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार तथा उद्धार टोली परिचालन गर्न र विस्थापित नागरिकका लागि खाना तथा आवासको व्यवस्था मिलाउन निर्देशन दिनुभयो । उहाँले प्रभावित क्षेत्रमा स्वच्छ खानेपानीको तत्काल व्यवस्था गर्नसमेत सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
रसुवामा बाढीका कारण जनधनमा क्षति पुगेपछि प्रदेश सरकारले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी संयन्त्रसँग समन्वय गरी उद्धार, राहत तथा पुनःस्थापनाका काम अघि बढाउने तयारी गरेको छ । उद्धार तथा राहतमा ढिलाइ हुन नदिन सम्बन्धित मन्त्रालय र सुरक्षा निकायलाई आवश्यक जनशक्ति तथा स्रोतसाधन परिचालन गर्नसमेत निर्देशन दिइएको छ ।
मुख्यमन्त्री थापामगरले विपद्को समयमा सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउँदै प्रभावित नागरिकले राज्यको उपस्थिति प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न आग्रह गर्नुभयो । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, भौतिक पूर्वाधार विकासमन्त्री भरत केसी, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापति, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री राजु बिष्टलगायत सहभागी हुनुहुन्थ्यो । प्रदेशसभा सदस्य रमेश महत र इन्द्रप्रसाद गोतामे, पूर्व उपसभामुख राधिका तामाङ, विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका उच्च अधिकारीको पनि बैठकमा उपस्थिति थियो ।

शेयर गरौ

ताजा अपडेट