प्राविधिक विषयको नतिजा निरासाजनक

लव न्यौपाने
चितवन । देशकै शैक्षिक हव मानिने चितवन जिल्लामा सञ्चालित प्राविधिक कलेजहरूको नतिजा निराशाजनक देखिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीइभिटी अन्तर्गत वि.सं. २०८२ भदौमा सञ्चालित पहिलो वर्षको नतिजामा अधिकांश शंकायमा उत्तीर्ण प्रतिशत अत्यन्तै न्यून देखिएको हो । विशेषगरी स्वास्थ्यसँग सम्बन्धित संवेदनशील विषयहरूमा विद्यार्थीको प्रदर्शन कमजोर हुनुले जिल्लाको प्राविधिक शिक्षाको गुणस्तरमाथि प्रश्न चिन्ह खडा गरेको छ ।

कुन शंकायमा कस्तो छ अवस्था
जिल्लाका प्रमुख प्राविधिक विषयहरूको नतिजा विश्लेषण गर्दा फार्मेसी बाहेक अन्य सवै विषयमा ४० प्रतिशतभन्दा कम विद्यार्थी मात्र सफल भएका छन् ।

कलेज अनुसारको उतीर्ण हेर्दा कहीँ निल त कहीँ उत्कृष्ट
नतिजालाई सुक्ष्म रूपमा हेर्दा केही कलेजको अवस्था दयनीय देखिएको छ । डेन्टल साइन्स तर्फ स्कूल अफ हेल्थ साइन्स भरतपुरका ४० जना विद्यार्थीमध्ये एक जना पनि उत्तीर्ण हुन सकेनन् । त्यस्तै एचए कार्यक्रममा श्री चितवन कलेजका ३८ जना विद्यार्थी नै अनुत्तीर्ण भएका छन् ।

स्कूल अफ हेल्थ साइन्स, भरतपुर र श्री चितवन कलेजले फार्मेसी तर्फ क्रमशः ९५ प्रतिशत र ८४ प्रतिशत नतिजा ल्याएर केही आशा जगाएका छन् । तर समग्रमा सवै कलेजको औसत प्रदर्शन भने निकै कमजोर छ ।

विषयगत विश्लेषणको मुख्य बुँदाहरू

डेन्टल र फिजियोथेरापी यी दुई विषयको अवस्था सबैभन्दा नाजुक देखिएको छ । डेन्टलमा ९३ प्रतिशत र फिजियोथेरापीमा ९० प्रतिशत विद्यार्थी असफल भएका छन् । ल्याव र रेडियोग्राफीस् प्रयोगशाला ल्याव र रेडियोग्राफी जस्ता प्राविधिक विषयमा पनि करिब ८५ प्रतिशत विद्यार्थी फेल हुनु चिन्ताको विषय बनेको छ । हेल्थ असिस्टेन्ट एचए र फार्मेसी जिल्लाभरका एचए का २७६ विद्यार्थीमध्ये ७३ जना (२६.४५ प्रतिशत) र फार्मेसी का २७४ मध्य १३० जना (४७.४५ प्रतिशत) मात्र पास हुनुले जनशक्ति उत्पादनको गति सुस्त देखिएको छ ।

चुनौती र आवश्यकता
चितवनका प्राविधिक कलेजहरूको यो कमजोर नतिजाले शिक्षण पद्धति, प्रयोगात्मक अभ्यासको कमी र विद्यार्थीको तयारीमा रहेको गम्भीर खाडललाई उजागर गरेको छ । दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य बोकेका प्राविधिक शिक्षालयहरूले केवल भर्ना सङ्ख्यामा मात्र ध्यान नदिई शैक्षिक गुणस्तर र अभ्यासमुखी शिक्षणमा आमूल सुधार गर्नुपर्ने देखिएको छ । नतिजाले स्पष्ट संकेत गरेको छ । आगामी दिनमा चितवनलाई प्राविधिक शिक्षाको केन्द्रको रूपमा टिकाइराख्न शैक्षिक व्यवस्थापन र अनुगमनमा कडा कदम चाल्न जरुरी छ ।

यी तथ्याङकले समग्रमा प्राविधिक शिक्षाको गुणस्तर खस्कँदै गएको देखाउँछ । अधिकांश कलेजमा दश जना विद्यार्थी समेत पास गराउन कठिन भइरहेको अवस्था देखिएको छ । जसले विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूमा चिन्ता बढाएको छ । स्कूल अफ हेल्थ साइन्सका प्रिन्सिपल सुमन पौडेलका अनुसार शैक्षिक गुणस्तर खस्कनुमा कलेजहरूमा विद्यार्थी छनोट भन्दा विद्यार्थी संकलन तर्फ बढी ध्यान दिइनु मुख्य कारण मध्ये एक हो । उहाका अनुसार विद्यार्थीहरू स्वयम् पनि आफ्नो नैतिक जिम्मेवारीबाट विमुख बन्दै गएका छन् । जसका कारण अध्ययनप्रति गम्भीरता घटेको देखिन्छ । साथै, कक्षाकोठामा न्यून उपस्थिति रहने समस्या पनि उल्लेखनीय रहेको उहाले बताउनुभयो ।
त्यसैगरी, विद्यार्थीहरू गाइड र गेसपेपरमै सीमित हुने प्रवृत्तिले गहिरो अध्ययनमा बाधा पु¥याएको उहाको भनाइ छ । “पढाइ प्रणाली नै व्यवहारिक (प्राक्टिकल) भन्दा सैद्धान्तिकमा बढी केन्द्रित हुँदा विद्यार्थीले सीप विकास गर्न सकेका छैनन्,” उहाले भन्नुभयो ।

त्यसैगरी फार्मेसी प्रशिक्षक निलकण्ठ पौडेलका अनुसार पहिलो वर्षको नतिजा कमजोर आउनुमा विद्यार्थी छनोट प्रक्रियामा आएको परिवर्तन मुख्य कारण हो । अघिल्लो वर्ष प्रवेश परीक्षाबाट भर्ना हुने व्यवस्था रहे पनि यस वर्ष अङ्कका आधारमा भर्ना हुँदा शैक्षिक स्तरमा असर परेको उहाँको भनाइ छ ।
उहाका अनुसार भाषागत अवरोध, विद्यार्थीको व्यक्तिगत क्षमता, शिक्षकको नियमितता तथा विद्यार्थीको पढाइ प्रतिको रुचि पनि नतिजा कमजोर हुनुका कारण हुन् । यसैगरी, नयाँ शैक्षिक सत्र २०८१÷०८२ मा लागू गरिएको पाठ्यक्रमबारे विद्यार्थीहरूलाई ज्ञान नहुँदा र अघिल्लो वर्षको तुलानमा पाठ्यक्रममा निकै फरक पन हुनुले पनि विद्यार्थीको नतिजामा फरक परेको उहाको धारणा छ ।

साथै नतिजामा सुधार ल्याउनका निम्ती विद्यार्थी भर्ना प्रकृया प्रवेश परीक्षाबाटै हुनु पर्ने र प्रशिक्षकले पढाउँदा विद्यार्थीको आवश्यकताको अनुसारको टक्निकल मेथडलोजीमा पनि आवश्यक रूपान्तरण ल्याउनुपर्ने उहाँको भनाई छ । यस विषयमा सम्बन्धित निकायले तत्काल सुधारका कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ । अन्यथा प्राविधिक शिक्षाप्रति विश्वास घट्ने खतरा रहेको सरोकारवालाहरूले बताएका छन् ।

शेयर गरौ

ताजा अपडेट