चितवन, १० चैत । सुपथ मुल्य पसल सञ्चालनमा आउन नसक्दा यहाँका उपभोक्ताहरु ठगिने गरेका छन् ।
कोरोना भाइरस संक्रमणको कारण हाटबजार, ठुला भिड हुने पसल, मेला महोत्सब सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएपछि उपभोक्ताले साना पसलमा उपभोग्य सामग्री खरिद गर्दै आएका छन् । यसरी साना पसलमा सामान खरिद गर्दा ठगिने गरेको उपभोक्ताहरुले बताएका छन् । उपभोक्ता संरक्षण अधिकार मञ्च चितवनका उपाध्यक्ष विष्णु भुसालले भन्नु भयो ‘दशै तिहारमा मात्र हैन अहिलेको संकलटमा पनि सुपथ मुल्य पसल सञ्चालन गर्नु पर्दछ ।’
बजारमा खुद्रा पसल तथा अन्य पसलहरुले उपभोक्ता ठग्न थालेका छन् तर प्रशासनले कडाइका साथ कार्बाही गर्न सकेको छैन उपाध्यक्ष भुसालले बताउनु भयो । दैनिक उपभोग्य सहित अन्य घरायसी सामग्रीमा समेत सामान लुकाउने, भएपनि महंगोमा बिक्री गर्दै आएको उहाले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भन्नु भयो ‘सरकारले सुपथ मुल्यको पसल सञ्चालन गर्न निर्देशन नदिएको कारण नचलाएको हो ।’ त्यस्ता पसल चलाउन भनी पत्र नआएको कारण स्थानीय तहबाट सञ्चालन गर्ने तयारी नरहेको बताउनु भयो । संकटको बेला मौका छोपी कालोबजारी गरेको जानकारी पाएमा र प्रमाण भेटिएमा आवश्यक कानुनी कार्वाही गरिने उहाले बताउनु भयो ।
सामान लुकाउने, तोकिएको मुल्य भन्दा धेरैमा बिक्री गरेको जानकारी पाएमा उजुरी गर्न समेत उहाले जानकारी दिनु भयो । केही दिन अगाडि मात्रै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी कोरोना भाइरसको कारण देखाएर सामान लुकाउने, चर्को मुल्यमा बिक्री गर्ने जस्ता काम नगर्न र गरेको थाहा पाएमा कडा कार्बाही गरिने चेतावनी दिएको थियो ।
जिल्लाको मुख्य नारायणगढ, भरतपुर, टाँडी, चनौली लगायतको बजारका उपभोग्य पसलमा सामान किन्नेको भिड बढेको छ । भरतपुरको ओरालोमा रहेको भाटभटेनी सुपर मार्केट लगायत अन्य ठुला व्यापारिक मलहरुमा आवश्यक सरसफाइमा ध्यान दिन, खरिद गर्न आउने उपभोक्ताको ज्वरो मापन गर्न, स्यानीटाइजरको प्रयोग गर्न र ज्वरो आएको विरामी देखिएमा तत्काल अस्पतालमा पठाउन सूचित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनु भयो ।


