सरकारले सुपथ पसल सञ्चालन गर्ने

काठमडौँ,७ चैत  । व्यापारीको कालोबजार नियन्त्रण गर्न सरकारले खाद्य पसलहरू सञ्चालन गर्नेभएको छ ।

कोरोना भाइरसको त्रास देखाएर खाद्य सामग्रीको भण्डारण गरी कृत्रिम अभाव सिर्जना गर्ने र महँगोमा बेच्ने गरेको गुनासो बढेपछि सरकारले उपत्यकाका पाँच स्थानमा खाद्य पसल सञ्चालन गर्न लागेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिनुभएको छ ।
सरकारद्वारा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले भन्नुभयो, कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न हामीले पसल खोल्दैछौँ, सुरुमा उपत्यकाका पाँच स्थानमा खोलिने तयारी भएको छ, साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडलगायतका निकायलाई पसल खोल्न दिइने सहमति भएको छ, पसल एक÷दुई दिनमै सञ्चालनमा आउने छन् ।
ती पसलको मूल्य सस्तो हुने र उपभोक्ताले सही मूल्यमा सहज तरिकाले सामग्री पाउने मन्त्री भट्टको भनाइ छ । आयात नियमित र सहज भइरहँदा पनि बजारमा कृत्रिम अभाव देखाउन खोजिएको र मन्त्रालयले बजार अनुगमन तीव्र बनाएपछि बजार सहज भइसकेको उहाँको दाबी छ । मन्त्री भट्टले भन्नुभयो, “प्राविधिक कारणले चाप भयो, अलिकति अभाव हुन थालेजस्तो देखिए पनि हामीले अनुगमन गरेर न्यूनीकरण गरियो, अहिले बजार सामान्य अवस्थामा छ, पेट्रोलको लाइन छैन । ”
खाद्यवस्तुमा अभाव नरहेको तर स्टोर गर्ने प्रवृत्तिले समस्या देखिएको उहाँको भनाइ छ । बजारको व्यवस्थापनमा अलिकति समस्या देखियो तर अभाव भने छैन । मन्त्री भट्टका अनुसार नेपाललाई चारदेखि छ महिनासम्म पुग्ने खाद्यान्न छ । नुन १० महिनालाई पुग्दो छ । साल्ट ट्रेडिङमा मात्र तीन महिनालाई पुग्ने चिनी छ ।
मास्क, सेनिटाइजर विगतमा हस्पिटलमा मात्र प्रयोग हुनेगरी आयात गरिन्थ्यो तर अहिले एक्कासि माग बढेपछि तत्कालका लािग अभाव देखिए पनि बजारमा किन्न पाइने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । पेट्रोलिय पदार्थ र ग्यास वितरणमा कुनै समस्या नरहेको जति माग गरे पनि वितरण गर्न सक्ने अवस्थामा रहेको उहाँको भनाइ छ । तर सुरक्षाका हिसाबले जोखिम हुने भएकाले ग्यास, पेट्रोल स्टोर गर्ने कामले घरमा ठूलो दुर्घटना निम्त्याउँछ सचेत हुन जरुरी छ, बिहीबार पेट्रोलियम पदार्थको बिक्री वितरण सामान्य भएको छ । पम्पहरूमा
लाइन छैन ।

गोरखापत्र दैनिक बाट

शेयर गरौ

ताजा अपडेट