चितवन समाचारदाता,
४ चैत । पूर्वी चितवनलाई विकासको अर्को फड्को मार्न दुइ ठुला परियोजना निर्माण कार्य सुरु भएको छ । ठुला सभा सम्मलेन गर्नको लागि एकहजार जना अट्ने सभाहल र दीर्घकालिन रुपमा बाढीलाई समाधान गर्न कंक्रिट वाल निर्माणको कार्य थालनी भएको हो । यो कार्यको सिलान्यास पूर्व अर्थमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले आज गर्नु भएको छ ।
एकहजार अट्ने सभाहल
रत्ननगर नगरपालिका वडा नं. ७ को शिसुवारमा एक हजार जना अट्ने शभाहल निर्माणको लागि सिलान्यास गर्नु भयो । सौराहामा निर्माण हुने यो शभाहल निर्माणको लागि धेरै वर्ष पहिलादेखि आफूले पहल गरेको पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताउनु भयो । ‘देशकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको सौराहामा ठुला कार्यक्रम गर्नु परेमा ठाउँको अभाव हुने गरेको छ ’ उहाले भन्नु भयो ‘शभाहल निर्माणपछि ठुला जमघटका लागि ठाउँको अभाव हुने छैन ।’
पर्यटकीय क्षेत्र भएकाले राष्ट्रिय अन्तरराष्ट्रिय कार्यक्रम हुने गर्दछ तर धेरै जना सहभागी हुने सुविधायुक्त कार्यक्रम स्थलको आवश्यकता महसुस भएको छ । त्यही आवश्यकतालाई सौराहा निर्माण हुने सभाहलले पूरा गर्ने उहाले बताउनु भयो । निर्माणको ठेक्का लिएको कम्पनीलाई तोकिएको समयमा काम पूरा गरेर आफ्नो क्षमता प्रस्तुत गर्न अनुरोध गर्नु भयो ।
४४ करोड २४ लाख रुपियाँ लाग्ने अनुमान गरिएको सभाहलको निर्माणको लागि ३५ करोड २२ रुपियाँमा ठेक्का सम्झौता भएको छ । ललितपुरको श्री रेलिगेर कन्ट्रक्सन प्रालिले निर्माणको जिम्मा पाएको छ । २०७६ फागुन १५ बाट काम सुरु गरेको कम्पनीले २०७९ बैशाख २१ गते निर्माण पूरा गर्नु पर्ने हुन्छ । नेपाल सरकारले लगानीमा निर्माण हुने सभाहलको डिजाइन आफ्नै मौलिकता झल्कने हुने पाण्डेले बताउनु भयो ।
सभाहलको मुलद्वार एकसिंगे गैंडाको आकृतिको निर्माण हुने गरी डिजाइन भएको छ । बन र बन्य जन्तुको लागि विश्वमा परिचित चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँ भएको जनावर हेर्नका लागि पर्यटक आउने गर्दछन् । सभाहल निर्माण पछि थप पर्यटकीय क्षेत्र बन्ने भएकाले यहाँको विशेषता फरक हुने नेता पाण्डेले बताउनु भयो ।
लोथर सौराहा कंक्रिट ड्याकको सिलान्यास
पूर्वी चितवनको निकुञ्ज र मानव वस्तीबाट वग्ने राप्ती नदीमा आउने बाढीेले यस क्षेत्र प्रभावित हुदै आएको छ । चितवनको सिमाना लोथरदेखि सौराहाहुदै पश्चिम चितवन जाने नदीले वर्षामा मानव वस्ती डुवान गर्दै आएको छ । यही नदी कटान र डुवानको समस्यालाई दीर्घकालिन समाधानको लागि लोथर सौराहा कंक्रिट ड्याम निर्माण गर्न मंगलबार सिलान्यास भएको छ ।
पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेले लोथर बजार नजिकै ड्याम निर्माण गर्न सिलान्यास गर्नु भएको हो । करिब १० अर्ब रुपियाँ लाग्ने ड्यामको लागि पहिलो चरणमा विदेशी निकायले सहयोग गर्नेछ । अहिले युरोपियन युनियनको सहयोगमा निर्माणको सुरुवात भएको नेता पाण्डेले जानकारी दिनु भयो । सरकार फेरवदल हुदा, कुनै राजनीतिक परिवर्तन हुदा समेत यो परियोजनामा कुनै असर नपर्ने गरी काम अगाडि बढ्ने पूर्व अर्थमन्त्री पाण्डेले बताउनु भयो ।
नेपालमा नै नयाँ ठुलो परियोजना अन्य क्षेत्रमा नभएको उहाँको दावी छ । करिब ४० किलोमिटर लामो निर्माण हुने कंक्रिट ड्यामको वहुवर्षे कार्यक्रम अन्तरगत बजेट आउने जानकारी दिनु भयो । यो ड्याम निर्माण भएपछि पूर्वी चितवनवासीको लागि बाढी, नदीकटान, डुवानको समस्या दीर्घकालिन रुपमा समाधान हुनेछ । अहिले केही किलोमिटर मात्र तारजाली, डुङगा हालेर निर्माण गरिएको छ । सिमेन्टेट ड्याम निर्माणपछि यही बाटोभएर सवारी साधन चलाउन सकिने र यस क्षेत्रको आर्थिक अवस्था सुधार भएर आउने उहाले बताउनु भयो । राप्ती नगरपालिकाका प्रमुख प्रभाव वरालले ड्याम निर्माणले यस क्षेत्रको विकासका लागि कोशेढुङगा सावित हुने बताउनु भयो ।


