चितवन, २२ फागुन । विभिन्न कारणले पूरा हुन नसकेका अधुरा विकास निर्माणको कामले गती लिएको छ ।
विभिन्न कारणले समयमा सम्पन्न हुन नसकेका अधुरा योजनालाई पुन काम गर्नको लागि सरकारले ल्याएको योजना अनुसार ती विकास निर्माणका काम सुरु भएको हो । त्यस्ता योजना मध्य साना ठुला लगानीका ४० वटा विकासका काम रहेको डिभिजन सडक कार्यालय चितवनका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनु भयो ।
ती योजना मध्य २०७१ सालदेखि काम सुरु भएर पनि सम्पन्न नभएको ठिमुरा देवघाटको पुलले गती लिएको छ । २१ करोड ६८ लाख रुपियाँको लागतमा आर्थिक वर्ष २०७१÷०७२ मा ठेक्का सम्झौता भएर काम पूरा नभएको योजना अहिले सुरु भएको हो । सम्झौता भएर बिचैमा काम छाडेका त्यस्ता योजनाहरु त्यही लागतमा पुन निर्माण कार्य सुरु भएको प्रमुख अधिकारीले जानकारी दिनु भयो ।
अधुरा योजनाको कामको विषयमा प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहालको नेतृत्वमा सडक डिभिजन कार्यालयले स्थलगत अवलोकन समेत गरेको छ । त्रिशुली नदी माथि निर्माण भइरहेको दुइसय १० मिटर लामो यो पुलको चार वटा पिल्लर निर्माण पछि काम रोकिएको थियो । अहिले पुलको स्ल्याप हाल्ने काम सुरु भइरहेको छ । एक वर्ष दिएको समय भित्र काम सक्ने गरी काम भइराखेको प्रमुख अधिकारीले जानकारी दिनु भयो । यो पुलको निर्माण ठेक्का एडभेन्चर कम्पनीले पाएको छ ।
ठिमुराको यो पुल निर्माण भएपछि चितवन र देवघाट जोडने छोटो दुरीको बाटो हुने छ । भरतपुर महानगरपालिका वडा नं. १ को ठिमुरामा पुल निर्माण पछि पवित्र देवघाट धाम जान आउन र तनु जिल्लाको दक्षिण क्षेत्रका स्थानीयलाई पुर्व पश्चिम राजमार्ग र नारायणगढ बजार सहज हुने छ । पुलको स्ल्याप राख्नको लागि अहिले धमाधम काम भइराखेको डिभिजन सडक कार्यालयका इन्जिनियर विजय दराइले जानकारी दिनु भयो ।
डिभिजन कार्यालय अन्तरगत छ वटा पुल मात्रै अधुरा योजना अहिले निर्माण कार्य सुरु भएको हो । यी बाहेक अन्य सडक, साना पुलहरु पनि रहेको कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनु भयो ।
कार्यालयका अनुसार निर्माणमा ढिलाइ भएको, विचैमा काम छाडेको, निर्माण छाडेर सम्पर्क विहिन भएकाहरु योजनालाई सरकारले एक पटक मौका दिएर काम गर्ने अवसर दिएको छ । यो अवसरलाई सदुपयोग गरेर निर्माण कम्पनीले फेरी काम थालेका छन् । पुरानो सम्झौताकै मुल्यमा निर्माण कम्पनीले ती अधुरा काम गर्ने छन् प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहालले भन्नु भयो । यो योजनाले राज्यलाई फाइदा पुगदछ उहाले भन्नु भयो देशै भरी यस्ता अधुरा योजनाहरु धेरै रहेका छन् ।


