रत्ननगरको नगर सभा : तीन कार्यविधि एक निर्देशिका पारित

रत्ननगर २९ माघ । रत्ननगर नगरपालिकाको बुधवार सम्पन्न छैठौं नगर सभाले तीन महत्वपूर्ण कार्यविधि र एउटा निर्देशिका सर्बसम्मत पारित गरेको छ ।
हिउदे अधिवेशनका रुपमा लिने सो नगर सभाले ७१ वटा योजनामा बजेट रकमान्तर,राजश्व बजेट तथा योजना निर्माणको समीक्षा,करको दरमा छुट दिइएको मेयर नारायण वनले जानकारी दिनु भयो । विधान मस्यौदा समितिका संयोजक तिलकराज शर्माले प्रस्तुत गरेको नगर प्रमुख उद्यमशिलता प्रर्बधन कोष सञ्चालन कार्यविधि, टोल विकास संस्था सञ्चालन कार्यविधि, बजार व्यवस्थापन कार्यविधि, स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नविकरण निर्देशिका सर्बसम्मत पारित भएको हो ।
राजश्व परामर्श समितिकी संयोजक उपमेयर विमला दुवाडीले राजश्व,बजेट तथा योजनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै स्वास्थ्य संस्था,सामुदायिक विद्यालय र मठमन्दिरलाई नगरपालिकाले कर नलिने घोषणा गरिन । स्वास्थ्य संस्था,सामुदायिक विद्यालय र मठमन्दिरको सम्पत्ती कर,भवन निर्माण गर्दा नगरपालिकाले दिने नक्सापास दस्तुर अबदेखि नलाग्ने उपमेयर दुवाडीले बताइन । कार्यक्रममा पूर्वाधार विकास समितिका संयोजक हरिकुमार श्रेष्ठले रकमान्तर बजेट र योजनाको विषयमा जानकारी गराएका थिए ।
नगर सभामा मेयर नारायण वनले आवश्यकताको प्राथमिकतालाई मध्यनजर गरी केही बजेट रकमान्तर गरिएको बताए । आगामी आर्थिक बर्षमा सकभर बजेट रकमान्तर नगर्ने उनको भनाई छ । मेयर वनले वडा स्तरीय योजना उत्पादनशिल क्षेत्र जोड दिएर योजना छनौट गर्न आग्रह गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल,वडाध्यक्षहरु राजन भट्ट,वलराम दाहाल,कृष्ण महतो, प्रबक्ता राजेन्द्र हमाल,कार्यपालिका सदस्य सरस्वती लामा,गीता दाहाल,वडा सदस्य अपिल अधिकारी,सोमबहादुर तामाङ लगायतले मन्तव्य राखेका थिए ।

शेयर गरौ

ताजा अपडेट