भरतपुर महानगरपालिकाद्वारा मेट्रो प्लाजा निर्माणको लागि प्रस्ताव आह्वान

चितवन,माघ २८ । भरतपुर महानगरपालिकाद्वारा मेट्रो प्लाजा निर्माणको लागि प्रस्ताव आह्रवान गरेको छ । भरतपुर महानगरपालिकाले लायन्सचोकस्थित पुरानो सब्जीमण्डी रहेको जग्गामा मेट्रो प्लाजा निर्माण गर्न सरोकारवालाहरुसँग प्रस्ताव आह्वान गरेको महानगर प्रमुख रेनु दाहालले आइतबार एक प्रेस विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ ।

प्रमुख दाहालले सार्वजनिक निजी साझेदारी मोडलमा प्लाजा निर्माण तथा सञ्चालनको लागि प्रस्ताव आह्वान गरेको बताउनु भयो । भरतपुर महानगरपालिका वडा नम्बर ३ लायन्स चोकमा रहेको १२ कठ्ठा जग्गामा मेट्रो प्लाजा बन्ने छ । महानगर प्रमुख दाहालले भन्नुभयो, ‘भरतपुर महानगरमा एकपछि अर्काे पूर्वाधार निर्माणको काम अघि बढेका छन्, अब झण्डै ४ वर्षको अवधिमा भरतपुर महानगर हरेक दृष्टिकोणले देशकै हेर्न लायक नमुना महानगरको रुपमा परिणत हुनेछ ।’


महानगर प्रमुख दाहालले नारायणगढको लायन्सचोकमा मेट्रो प्लाजा भवनको नक्साङ्कन भइसकेको बताउनु भयो । उहाँले सोही वा प्रस्तावकले कस्तो डिजाइनको निर्माण गर्ने हो सो बमोजिमको प्रस्ताव पेस गर्न नीजि क्षेत्र, सरोकारवाला निकाय, स्वदेशी एवं विदेशी लगानीकर्ताहरुलाई आआफ्नो प्रस्ताव पेस गर्न आग्रह गर्नु भएको छ । विज्ञप्तिमा प्रस्तावित प्लाजामा भूमिगत तला पार्किङको व्यवस्था गरिने छ ।

उक्त व्यावसायिक भवनमा २ तला वेसमेन्ट पार्किङ्गसहित १२ तला भवन निर्माण र यसमा होटल, प्लाजा, खल्ला स्थानहरु, कार्यालय एवं बैकिङ्ग सेवाका लागि पर्याप्त सुविधा, बालबालिका खल्ने क्षेत्र, रेष्टुरेन्ट, मल्टीप्लेक्स तथा मनोरन्जन, स्वास्थ्य क्लवहरु, प्रदर्शनी हल, अपाङ्गता मैत्री सुविधा, चितवन तथा भरतपुर महानगरको स्वरुप प्रतिविम्वित गर्ने बाह्रय संरचना एवं अन्तर्राष्ट्रिय स्तरको वास्तुकला झल्कने भवन निर्माण हुने छ । निजि क्षेत्रले उल्लेखित विशेषता एवं सुविधा बाहेक अन्य सेवा सुविधा थप गरी डिजाइन एवं निर्माण गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

चार तलासम्म व्यावसायिक सटर हुनेछन् । त्यसमाथि दुई व्यावसायिक हल, दुई सिनेमा हल, जिमहल, फुडकोट, स्विमिङ्ग पुल, रेष्टुरेन्टहरु हुनेछन् । बहुउद्देश्यीय भवन देशकै नमुना बन्ने महानगर प्रमुख दाहालको भनाइ छ ।
विज्ञप्ति अनुसार भवनको लागत करिव रु १ अर्बदेखि रु १.२५ अर्बसम्म लाग्ने प्रारम्भिक अनुमान गरिएको एवं अधिकतम ३० बर्षसम्म करार अवधि रहने हुँदा देशकै पहिलो सार्वजनिक नीजि साझेदारी प्रयोगबाट निर्माण हुन गइरहेको यस भवनको निर्माणपछि महानगरपालिका, महानगरपालिकावासी एवं नीजि क्षेत्र सबै लाभान्वित हुने र स्वदेशमा विकास निर्माणका कार्यमा यस्ता सहकार्यले प्रेरणा र हौसला प्राप्त हुने छ । विशेष गरी निजी क्षेत्रलाई महानगरले लिएको नीतिलाई साकार पारिदिन महानगरले अनुरोध गरेको छ । महानगरपालिका निजी क्षेत्रसँग सहकार्य गर्न सदा तत्पर रहेको प्रमुख दाहालले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

शेयर गरौ

ताजा अपडेट