प्रेम दिवसको अवसरमा सौराहामा फूड फेष्टिबल

सौराहा २८ माघ । प्रेम दिवसको अवसर पारेर चितवनको पर्यटकीय नगरी सौराहामा मंगलवारदेखि १४ औं सौराहा फुड फेष्टिवल सुरु भएको छ ।
रेष्टुरेष्ट एण्ड बार एशोसियशन(रेवान) सौराहाले आयोजना गरेको फेष्टिवलको उद्घाटन गर्दै बागमती प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले पर्यटनका माध्यमबाट समृद्धि हासिल गर्न सकिने बताउनु भयो । पर्यटन आर्थिक विकासको मेरुदण्ड रहेको भन्दै मन्त्री नेपालले पर्यटनको विकासले मात्र मुलुकले समृद्धि प्राप्त गर्ने बताउनु भयो । कार्यक्रममा प्रदेश सभा सांसद कृष्णप्रसाद खनालले भ्रमण वर्ष घोषणामा मात्र सिमित हुन नहुने तर्क गर्नु भयो ।
रत्ननगरका मेयर नारायण वनले भ्रमण वर्षलाई सफल बनाउन केन्द्र र प्रदेश सरकारले ठोस कदम चाल्न नसकेको भन्दै प्रर्वधनात्मक कर्मक्रम ल्याउन आग्रह गर्नु भयो । कार्यक्रममा केन्द्रीय रेवानका अध्यक्ष अरनिकोराज भण्डारी,रेवान सौराहाका पूर्व अध्यक्ष तथा वडा अध्यक्ष राजन भट्ट,रेवान महिला समुहकी अध्यक्ष माला दाहाल,क्षेत्रीय होटल संघका सौराहाका अध्यक्ष दीपक भट्टराई, थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललीतकुमार चौधरी लगायतले मन्तव्य राख्नु भएको थियो ।
पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले प्रेम दिवसको अवसर पारेर आयोजित सो फेष्टिवलमा स्वदेशी तथा विदेशी र परम्परागत खानाका ४० वटा स्टल रहेको संयोजक ध्रुव गिरीले जानकारी दिनु भयो । फेष्टिवलमा स्थानीय जातजाती तथा विदेशी खानाको परिकार संगै स्थानीय कला, संस्कृति, भेषभुषाको प्रर्दशन गरिने फुड फेष्टिवलका संयोजक गिरीले बताउनु भयो ।
फेष्टिवल अन्तर्गत मेयरकप भलिवल प्रतियोगिता, प्रेम पत्र लेखन प्रतियोगिता, वेटर रेस, महिलाहरुको म्युजिकल चेयर, वालवालिकाको बेलुन फुटाइ, डोरी तान्ने,अन्तर विद्यालय नृत्य प्रतियोगिता तथा सडक नाटक लगायतका कार्यक्रम हुनेछन । झण्डै साढे दुई करोडको कारोवार हुने अनुमान गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटी,रत्ननगरकी उपमेयर विमला दुवाडी,नेकपाका नगर अध्यक्ष कुलप्रसाद भूषाल,नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे,वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
फेष्टिवलको सांस्कृतिक कार्यक्रम अन्तर्गत पशुपती शर्मा, प्रकाश सपूत, सम्झना भण्डारी, दुर्गेश थापा, शान्ती श्री परियार, अलमोडा राना उप्रेती, सम्झना लामिछाने मगर, कमल खत्री, कृष्ण अखेली, दुर्गा सापकोटा, रमेशराज भट्टराई, डिला बिक, रविन लामिछाने, राजन कार्की, अपेक्षा गिरी, जीवन दाहाल, चोलिन्द्र पौडेल, शितल शर्मा, अर्जुन सापकोटा, मनोज महतो, अनु चौधरी, डिबि लोप्चन, द न्याटिभ ब्याण्ड, बलराम सरकार लगायतका कलाकारको प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक नविन नेपालले जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट