चितवन, २७ माघ । जिल्ला उद्योग वाणिज्य संघ गैँडकोट नवलपुरको आयोजनामा १३ दिनसम्म सञ्चालन भएको महोत्सवको तीन लाख बढी दर्शकले अवलोकन गरेका छन् ।
माघ १५ देखि सुरु भएको महोत्सवमा सोमबार अन्तिम दिनसम्म आइपुग्दा तीन लाख बढी दर्शकले अवलोकन गरेको संघका कोषाध्यक्ष एवम् महोत्सवका आर्थिक तथा प्रचार प्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए । सो महोत्सवमा करिब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको समेत सापकोटाले जानकारी दिनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले सोमबार महोत्सवको समापन गरेका छन् । महोत्सवको समापन गर्दै ढकालले नेपालमा लगानी गर्ने वातावरण सिर्जना हुँदै गएको बताए । आफूले नवलपुर क्षेत्रलाई लक्षित गर्दै केबुलकारसहित अन्य परियोजना सञ्चालन गर्ने तयारी गरेको समेत ढकालले बताए ।
गैँडाकोट महोत्सवले यस क्षेत्रको समग्र अर्थतन्त्रको विकासका साथै स्थानीय उत्पादन प्रवद्र्धनमा टेवा पु¥याएको ढकालको भनाइ छ । तेस्रो संस्करणको गैँडाकोट महोत्सवमा दरै, चेपाङ, थारु, गुरुङ, थकालीसहित विभिन्न नौ वटा जातजातिका सांस्कृतिक घर राखिएका थिए ।
सो महोत्सवमा उद्योग, वाणिज्य, व्यवसायिक तथा पर्यटन सम्बन्धी ३५० बढी स्टलका साथै बालउद्यानसमेत रहेको थियो । जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको मुख्य आकर्षणका रुपमा लण्डन ब्रिज आकारको प्रवेश द्वार, बुर्ज अल अरब दुबई (सेल्फी जोन)लगायत निर्माण गरिएको जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले बताए ।
त्यस्तै, विदेशी संस्कृतिको अवलोकन गराउने उद्देश्यले रसियन बेली डान्ससमेत महोत्सव अवधिभर विशेष प्रस्तुतिको रुपमा राखिएको उनले बताए । भट्टचनकाअनुसार स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सवका सबै स्टलहरु बाँसबाट निर्माण गरिएका थिए ।
नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत महोत्सवले थप ऊर्जा प्रदान गरेको भट्टचनले बताए । गैँडाकोट महोत्सवका सचिवालय संयोजक एवम् जिल्ला उद्योग वाणिज्य संघ नवलपुरका महासचिव छविलाल कँडेलले तेस्रो संस्करणको गैँडाकोट महोत्सव सभ्य एवम् भव्य रुपमा सम्पन्न भएको बताए ।


