चितवन १३ मङसिर । रत्ननगर नगरपालिकाले सूचना प्रविधिको प्रयोग गरेर संकलन गरेको सुकुम्वासीहरुको तथ्यांक शुक्रवार सार्वजनिक गरेको छ ।
प्रदेश सांसदहरु कृष्ण प्रसाद खनाल र कंचन खनाल लगायत सरोकारवालाहरुको उपस्थितिमा रत्ननगर नगरपालिकाले सुकुम्वासीहरुको तथ्याङक सार्वजनिक गरेको हो ।
रत्ननगर नगरपालिका, लुमन्ती आवासका लागि सहयोग समुह र युएन ह्याबिटेटले २ महिना लगाएर सुकुम्वासी वस्तीमा सर्वेक्षण गरेका थिए । सोही सर्वेक्षणको तथ्यांक शुक्रबार एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो । लुमन्ती आवासका लागि सहयोग समुह रत्ननगरका संयोजक सिंहबहादुर लामाका अनुसार नगर भित्र १ हजार ३ सय ५९ घरधुरीको आफ्नो नाममा कतै जग्गा छैन । उहाँहरु ऐलानी जग्गामा वसोवास गर्दै आउनु भएको छ ।
१ हजार ५ सय ४ घरघुरीमा गरिएको सर्वेक्षण मध्ये ९९ घरधुरीको भने अयन्त्र जग्गा रहेको पाईएको लुमन्तीका संयोजक लामाले बताउनु भयो । रत्ननगरमा सबैभन्दा धेरै नगरको वडा नम्वर १४ मा २६४ घरधुरी सुकुम्वासीहरु रहेका छन । लुमन्तीका संस्थापक अध्यक्ष प्रफुल्लमान प्रधानले तथ्याङकले अब सुकुम्वासीको क्षेत्रमा काम सहज हुने विश्वास व्यक्त गर्नु भयो । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले आफ्नै जग्गा भएर पनि ऐलानी जग्गा ओगटेर वसेकाहरुलाई उहाँहरुकै जग्गामा फिर्ता पठाउने प्रतिवद्धता जनाउनु भयो ।


