चितवन ६ कार्तिक । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले केही वर्ष भित्र सबै जनताको घरमा बिजुली पुग्ने बताउनुभएको छ ।
भरतपुर महानगरपालिकाले गरेको नारायणी र राप्ती नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा मन्त्री पुनले अध्यारोमा बस्नु पर्ने बाध्यता हटाउन सरकरले दीर्घकालिन योजना ल्याएको जानकारी दिनु भयो ।
उहाले भन्नू भयो अब अँध्यारोमा जनत बस्न पर्दैन जसको लागि चालु आर्थिक वर्ष २८ करोड बजेट छुट्टाएको छ । ‘चितवनका प्रत्येक घरमा बिजुली पुग्छ, उज्यालोबाट कुनै घर बाहिर हुने छैन ।’ आकसबाट हेर्दा सबै घरमा बत्ती बलेको सुन्दर दृश्य देखिन्छ ।
उर्जामन्त्री पुनले सरकार कानुन निर्माण र संघीय व्यवस्थाअनुरूप तीन वटा तहको सरकार सञ्चालनको सिकाइमा रहेको र योजनाबद्ध र दिगो विकासको लक्षसहित अगाडि बढिरहेको बताउनुभयो । उहाँका अनुसार यस वर्ष सरकारले करिब ६ अर्बको हाराहारीमा नदी नियन्त्रण र तटबन्धनको लागि बजेट विनियोजन गरेको छ ।
मन्त्री पुनले चितवन केन्द्रभागमा रहेको हुनाले हरेक विकासमा यस जिल्ला नमुना बन्न सक्ने र यसको विकासको सिको अरु जिल्लाले पनि गर्न सक्ने बताउनुभयो ।
उहाँले नारायणी नदी तटबन्धनलाइ प्रामिकताका साथ काम अगाडि बढाउन सम्बन्धित आयोजना प्रमुखहरुलाई निर्देशन दिनुभयो । ‘बजेटको कमी हुन दिने छैन, काम अगाडि बढाउनूस् , अबको विकास साझेदारी मोडलमा अगाडि बढाउँदा आसातित उपलब्धी हासिल गर्न सकिने उहाँको भनाइ थियो ।
चितवनको समग्र सिंचाइ प्रणालीको विकासमा मन्त्रालयले योजना अगाडि बढाएका बताउनुभयो । उहाँले भन्नुभयो, ‘ ४१ जिल्लामा यसपटक पूर्ण विद्युतीकरण गर्ने काम सुरु भएको छ, त्यसमा चितवन पनि परेको छ ।’ मन्त्री पुनले भरतपुर महानगरलाई उज्यालो बनाउनका लागि स्मार्ट लाइटको अवधारणालाई अगाडि बढाइएको बताउनुभयो ।
मन्त्री पुनले २० करोडको लागतमा भरतपुर महानगरमा स्मार्ट स्ट्रीट लाइट जडान गर्न लागिएको बताउनुभएको छ ।मन्त्री नेपाल सरकारले एउटा मोडेल प्रोजेक्टको रुपमा भरतपुरमा स्मार्ट स्ट्रीट लाइट जडान गर्न लागिएको बताउनुभयो ।
कार्यक्रममा उहाँले प्रधानमन्त्रीको पानी जहाजको सपनालाई साकार पार्न नारायणी नदीमा पानी जहाज चलाउने अवधारणालाई अगाडि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दासढुंगादेखि भारतको बोर्डरसम्म पानी जहाज चलाउन सकिने अध्ययनले देखाएको छ । ३०० सम्म कन्टेनर बोक्ने पानीजहाज नारायणी नदीमा चल्न सक्छ ।’
कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सांसद विजय सुवेदीले समयमै नारायणी र राप्ती नदी तटबन्धलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । अर्का प्रदेश सांसद मिलनबाबु श्रेष्ठले विकासका कार्यक्रमहरु योजनाबद्ध ढंगले अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले नारायणी नदी तटबन्धन, पश्चिम चितवनका सिंचाइको व्यवस्था र रिंगरोडको कामलाई तीव्रताका साथ पर्याप्त बजेटसहित अगाडि बढाइदिन उर्जामन्त्री पुनसमक्ष आग्रह गर्नुभएको थियो । उहाँले मन्त्रीसामु स्मार्ट सडक बत्ती र सिंचाइको लागि नारायणी लिफ्ट र खगेरी सिंचाइको विस्तारको लागि पर्याप्त बजेटको व्यवस्था गर्नसमेत आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा सहभागिहरुले आफना धारणा राखेका थिए ।


