चितवन समाचार डटकम
४ कात्तिक । गरिमा धान भित्राएर भकारी भर्ने किसानको सपना पूरा हुन सकेन । गएको वर्ष राम्रो उत्पादन दिएको धानको बोटमा यस वर्ष बाला नलागेपछि भकारी रित्तो हुने भएको छ ।
अन्य धान काट्ने बेला हुदासम्म पनि गरिमा धानमा बाला नलागेपछि किसानले अहिले धमाधाम काट्न थालेका छन् । असारमा रोपेको धान अहिले पाकेर धमाधाम काट्न लाग्दासम्म गरिमा धानमा बाला लाग्ने अवस्था नदेखेपछि यहाँका किसानले हरियो बोट काट्न थालेका हुन् । एक महिना अगाडिदेखिनै किसानले धानमा बाला लागेन भन्दै कृषि ज्ञान केन्द्र चितवनमा उजुरी गरेका थिए । ज्ञान केन्द्रको पहलमा धानको विज्ञलाई स्थलगत अवलोन गर्न लगाएर यसको बास्तविक अवस्था पत्ता लगाउने प्रयास गरेको छ ।
धानपछिको अर्को बाली लगाउन ढिला हुन लागेको, लगाएको धानले उत्पादन दिने अवस्था नभएपछि काट्न थालेका हुन् । खैरहनी नगरपालिका वडा नंं ११ किसान कृष्ण लामाले भन्नु भयो ‘छिमेकी सबैले धान भित्राइसके आफ्नो खेतमा बाला लाग्ने कुनै अवस्था देखिदैन किन राख्ने त्यही भएर काटेको हो ।’ दुई बिगाहा क्षेत्रफलमा लगाएको गरिमा जातको धान पसाएन । तरकारी लगाउन ढिला हुन लागी सक्यो यही धानलाई मात्र कति बाटो हेर्ने उहाले भन्नु भयो ।
दुई बिगाहा क्षेत्रफलमा धान लगाउन उहाले करिब एक लाख ५० हजार रूपैयाँ खर्च गर्नु भयो, तर धानमा बाला लागेन । ‘पैस सकियो, समय गयो धान आएन’ उहाले भन्नु भयो, ‘भकारी रित्तै भयो ।’ गत वर्ष औसतभन्दा बढी फलेको थियो यसपाली डुबायो ।
उहा मात्र होइन गरिमा धान लगाउने चितवनका किसानको भकारी यस वर्ष रित्तो भएको छ । खेतमा लगाएको धानमा बाला नलागेपछि काटेर अर्को बाली लगाउने तयारीमा छन् । पूर्वी चितवनमा धानपछि हिउदमा तरकारी खेती गर्दछन् । कात्तिकमा लगाउने तरकारी, तोरी मुसुरोको लागि ढिला हुने भन्दै बाला नलागेको धान काटेर खेत जोत्ने तयारी गरेका छन् ।
नेपालमा गरिमा जातको बीउ भित्राउने कम्पनीलाई सरकारले कारबाही गरी किसानलाई क्षतिपूर्ति दिनुपर्ने किसानको माग छ । सरकारले सिफारिस गरेको धानमा बाला नलागेपछि क्षतीपुर्ति दिलाउन सरकारले नै पहल गर्नु पर्ने भरतपुरका किसान लेखनाथ खनालले बताउनु भयो ।
भदौ र असोजमा कृषि वैज्ञानिकहरुले चितवनका किसानको खेतमै पुगेर गरिमा जातको धानको अनुसन्धान गरेका थिए । अनुसन्धानका क्रममा कृषि वैज्ञानिकहरुले दुई महिनाभित्र धान पसाउने दाबी गरेका थिए । तर धान फल्ने कामको विकास नभएपछि किसानले आफ्नो सुर गरेका हुन् ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले एउटा धान भनेर अर्को बिउ दिएको कारण समयमा बाला नलागेको बताउनु भयो । विज्ञहरुको टोलीले दिएको प्रतिवेदन अनुसार गरिमा धानको विऊ नभएको कारण ढिला मात्रै धान पसाउने भएकाले किसानहरुले हतार गरेर हरियो धान काट्न नहुने बताउनु हुन्छ । ‘हामीले अझै एक महिना धैर्य गर्नुहोस् भनेका छौँ’, उहाले भन्नु भयो, तर किसानहरुले हतार गरेर काट्नु भएको छ ।’ प्रमुख ढकालले अबको एक महिनाभित्र धान नपसाए बीउ सप्लायर्स कम्पनीलाई कारबाही गरी उसैबाट क्षतिपूर्ति भराउने योजना रहेको जानकारी दिनु भयो । ‘धान काटियो भने प्रमाण हुदैन, त्यसैले अझै केही समय कुर्नको लागि अनुरोध गर्दछु’, उहाले भन्नु भयो ‘क्षतिपूर्तिका लागि पनि किसानहरुले अझै एक महिना धान काट्न हुँदैन ।’ प्रमुख ढकालले परीक्षणका लागि काठमाडौँ पठाइएको धानको रिपोर्ट आइनसकेको जानकारी दिनु भयो ।
कार्यालयका अनुसार ‘नेपाल सरकारले वि.सं. २०७२मा गरिमा जातको धानलाई रजिष्टर गरेर नेपालमा बिक्री गर्न अनुमती दिएको थियो ।’ त्यही समयदेखि चितवनमा यस जातको धान किसानले लगाउदै आएका छन् ।
सुख्खा, पानी कम भएको ठाउँमा लगाइने यो जातको धान छिटो पाक्ने हुन्छ । राम्रो उत्पादन दिने भएकाले चितवनका किसानले यो जातको धान मन पराएको हुन् । नेपालमा सनराइज एग्रीकल्चर रिसर्च सेन्टर कम्पनले बिक्री वितरण गर्न अनुमती पाएको छ । यही कम्पनीले नेपालमा बिक्री गर्दै आएको कार्यालयले जानकारी दिएको छ ।
विउ बिक्री गर्ने सस्था सनराइज एग्रीकल्चर रिसर्च सेन्टरका प्रतिनिधि अनुजकुमार चौधरीले दाङमा रहेको यो कम्पनीले सबैधन्दा धेरै चितवनमा धानको बिउ बिक्री गर्दै आएको छ । चौधरीले भन्नु भयो ‘नेपालमा वार्षिक १७ टन बिउ आउने गरेकोमा चितवनमा मात्रै १३ टन बिक्री भएको छ ।’ दाङसहित अन्य जिल्लामा यो धानको बिउ थोरै बिक्री हुन्छ उहाले जानकारी दिनु भयो ।
चितवनको राप्ती, खैरहनी, रत्ननगर, कालिका र पश्चिम चितवनका किसानहरुले गरिमा जातको बीउ भनेर लगाइएको सो धानमा बाला लागेको छैन । चितवनमा करिब ९५० बिगाहामा गरिमा जातको धान लगाइएको अनुमान कृषि ज्ञान केन्द्र चितवनले गरेको छ ।


