प्याजको मूल्य आकासियो : अझै वृद्धि हुन सक्ने

हुन पनि गत वर्ष यो बेला प्रतिकेजी ३० रुपियाँ थोकमा पाइएको प्याज आइतबारसम्म प्रतिकेजी १०० रुपियाँसम्ममा थोकमा कारोबार भएको थियो भने मङ्गलबार थोक बजारमै पनि प्रतिकेजी १२० रुपियाँ पुगको छ । खुद्रा भाउ झनै मनपरी छ ।
कालीमाटीमा मात्रै दैनिक २२ देखि २५ टन प्याज भारतबाट आयात हुने गरेकोमा मङ्गलबार तीन टन मात्रै आएको व्यवसायीले बताएका छन् । व्यवसायीका अनुसार भारतबाट प्याज आउन ठप्प भएको छ तर भन्सारमा आइसकेका मात्रै आउने क्रममा रहेकाले फाटफुट आइरहेका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेल कालीमाटी बजारमा मङ्गलबार तीन टन मात्रै प्याज आएकाले बजारमा यसको अभाव देखिएको बताउनुहुन्छ । दैनिक २२÷२४ टन प्याज आउने गरेको बजारमा तीन टन आउँदा त हामी भारतसँग मात्रै परनिर्भर रहेको र त्यहाँ रोक लगाएपछि बजारमा अभाव भएको उहाँको भनाइ छ । प्याज अन्य देशमा निर्यात गर्दा भारतमै महँगो भएको भन्दै भारतीय नागरिकबाट चर्को विरोध भएपछि भारत सरकारले त्यहाँको प्याज निर्यातमा रोक लगाएको छ । यसको प्रत्यक्ष असर नेपालमा
परेको छ ।
हुन त नेपालमा खपत हुनेमध्ये जम्मा दुई प्रतिशत मात्रै यहाँ उत्पादन हुन्छ, बाँकी ९८ प्रतिशत विदेशबाट आयात हुन्छ । अहिले भारतबाटै प्याज महँगो भएर आएको छ, त्यसमाथि यहाँ व्यापारीले दोब्बरसम्म लिने गरेका छन् । तर, तरकारी बजारमा व्यापार गर्दै आएका ठूला व्यापारीले नै प्याजको भाउ कसले बढायो भन्ने बारेमा आफूहरू बेखबर रहेको रहेको बताउने गर्दछन ।

भाउ अझै चर्को हुनसक्ने
नेपालमा प्याज उत्पादनको सिजन सुरु भएको छैन । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । हाम्रोमा आठ÷दस दिनभन्दा धेरै प्याज भण्डारण गर्न पनि सकिन्न । त्यसैले अहिले खुद्रा १५० रुपियाँसम्म पुगेको प्याजको भाउ थप बढ्न सक्ने व्यापारी बताउँछन् । काठमाडौँमा दैनिक ५० टनको माग हुुने गरेकोमा देशकै बेलामा भाग बढेर झण्डै एक सय टनको माग हुन्छ ।

प्याज गोदाममा आकास्मिक अनुगमन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाली बजारमा प्याजको मूल्य एक्कासी बढेपछि कालीमाटीस्थित प्याज गोदामको आकास्मिक अनुगमन गरेको छ । विभागको अनुगमन टोलीले सोमबार कालीमाटीस्थित प्याज भण्डारण गरिएको गोदाममा अनुगमन गरेको हो । अनुगमनका क्रममा आइतबारको तुलनामा सोमबार प्याजको मूल्य बढाएर बिक्री गरेको भेटिएको थियो । विभागले ती प्याज व्यापारीको परिचय सार्वजनिक गरेको छैन । व्यापारीले मौज्दातमै रहेको प्याजको मूल्य बढाएर बिक्री गरिएको हो वा खरिद मूल्य नै बढी परेको हो भन्नेमा अनुसन्धान भइरहेको बताउनुभयो ।
अनुगमन टोलीले खरिद, बिक्री तथा मौज्दात विवरणसहित ती व्यापारीलाई विभागमा उपस्थित हुन निर्देशन दिएको छ । अस्वाभाविक रूपमा वृद्धि भएको प्याजको भाउले जनजीवन प्रभावित पारेको पाइएपछि विभागको टोली अनुगमनमा निस्किएको हो । अनुगमनका क्रममा व्यापारीले अवरोध गर्ने आशङ्कामा विभागको टोली ठूलो सङ्ख्यामा सुरक्षाकर्मी लिएर कालीमाटीस्थित तरकारी बजार पुगेको थियो ।
नेपालमा खपत हुने परिमाणमध्ये झन्डै ९८ प्रतिशत भारतका नासिक, कानपुर, इन्दौर, लखनउ, र सिमलालगायत स्थानबाट प्याज आयात हुन्छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷७६ मा अर्ब ६२ करोड २५ लाख रुपियाँ प्याज आयात भएको थियो । काठमाडौँ उपत्यकामा मात्रै यसको दैनिक २७० टन खपत हुन्छ ।

गोरखापत्र दैनिक बाट

शेयर गरौ

ताजा अपडेट