राष्ट्रबैंकले आठ अर्ब ६५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं, १६ भदौ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) आठ अर्ब ६५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमध्ये ३ अर्ब १३ करोड रुपैयाँ ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको जनाएको छ । उक्त परिमाणको ट्रेजरी बिल आगामी मंसिर १७ गते परिपक्व हुनेछ ।
यस्तै पाँच अर्ब ५२ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने १ सय ८२ दिनमा परिपक्व हुनेछ । यसअघि बैंकले यही भदौ ९ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

के हो ट्रेजरी बिल ?
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधि (बढीमा एक वर्ष)को स्रोत जुटाउन ट्रेजरी बिल बिक्री गरिन्छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारणले पनि बोलकबोलमा सहभागी भएर ट्रेजरी बिल किन्न सक्छन् ।

ट्रेजरी बिलको बोलकबोल प्रत्येक हप्ताको सोमबार हुने गर्दछ भने निष्कासन सोको भोलिपल्ट अर्थात मंगलबार गरिन्छ । यो बिलको निश्चित फेस भ्याल्यु (परल मूल्य) हुन्छ । भुक्तानी गर्ने बेलामा त्यही फेस भ्यालुबराबरको रकम दिने शर्तमा सरकारले ट्रेजरी बिल निष्कासन गर्छ ।

शेयर गरौ

ताजा अपडेट