चितवन समाचार डटकम,
१७ साउन ।
कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रलाई गुणात्मक रुपमा विकास गर्नु पर्ने बताउनु भएको छ ।
नेपाल भेटेरिनरी एसोसियनको वार्षिक साधारण सभालाई चितवनको भरतपुरमा शुक्रबार उद्घाटन गर्दै सन्तोषजनक अवस्था भएपनि गुणात्मक विकास नगरे कृषिमा आश्रितको जीवनस्तर माथि उकास्न नसकिने बताउनु भयो । उहाले भन्नु भयो ‘कृषि पशुपन्छी क्षेत्र कमजोर अवस्थाबाट हामी गुज्रेका छौ, यही अवस्था रहेमा कृषिबाट क्रान्ती गर्न सकिदैन ।’
विकसित देशको तुलना गर्दा हामी कृषि क्षेत्रको विकासमा दुइसय वर्षपछि छौ उहाले भन्नु भयो । परम्परागत रुपमा हुने कृषिबाट प्रविधिमा नगएसम्म हामीले विकास छिटो गर्न सक्दैनौ मन्त्री खनालले भन्नु भयो । निर्वाहमुखी खेतीबाट व्यवसायिक रुपमा लैजानको लागि नीतिगत रुपमा नै सरकारले विकास गर्न लागेको जानकारी दिनु भयो ।
प्रसस्त स्रोत भएरपनि त्यसको उपयोग गर्न नजान्दा पछि परेको भन्दै विज्ञको सल्लाहमा यसको कामलाई अगाडि वढाउने मन्त्री खनालले भन्नु भयो । विगतको १० महिना यता ११ खर्बको व्यापार घाटा देशले वेहोरेको भन्दै उहाले यो अवस्थालाई सुधार गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । कृषि क्षेत्रमा १५० अर्ब आयात गरेको नेपालले १३ अर्ब निर्यात गर्दै आएको जानकारी दिनु भयो ।
विदेशमा रहेका नेपाली युवालाई आकर्शित हुने गरी कृषि क्षेत्रलाई विकास गर्न सरकारले काम गरिराखेको भन्नु भयो । तत्काल परिणाम आएको छैन, देखिनेगरी आउन केही समय लग्नेछ मन्त्री खनालले भन्नु भयो । कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर इश्वरीप्रसाद ढकालले पशुपन्छीमा आएको नयाँ रोग र संक्रमणले चुनौती थपिएको बताउनु भयो । हरेक वर्ष संक्रमण रोग फैलिएर पशुपन्छीको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको बताउनु भयो । पशुपन्छीमा लाग्ने रोगको प्रत्यक्ष प्रभाव मानव स्वास्थ्यमा पनि पर्ने गरेकाले भेटेरिनरी क्षेत्रमा लागेका डाक्टरहरुले यसमा ध्यान दिनु पर्ने बताउनु भयो । फ्रान्समा सन् १७६२ बाट भेटेरिनरी अध्यापन शुरु भएकोमा भन्दै नेपाल भर्खर बामे सर्दै गरेको बताउनु भयो ।
कार्यक्रममा नेपाल पशुचिकित्सा परिषदका अध्यक्ष डाक्टर सीताराम अर्याल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डाक्टर विमलकुमार निर्मल, पशुसेवा विभागका उपमहानिर्देशक सम्झना काफ्ले, नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टलगायतले भेटेरिनरी क्षेत्रको विकास र यसको आवश्यकताको विषयमा जानकारी गराउनु भएको थियो । देशभरीबाट भेला भएका भेटेरियनहरुले यस क्षेत्रमा रहेका चुनौतिका विषयमा छलफल गरी सरकार समक्ष मागहरु राख्ने रहेको छ ।


