चितवनमा विकास खर्च हुनै कठिन : साढे २ अर्ब रुपियाँ फ्रिज

चितवन समाचार डटकम
१५ साउन ।

विकासको लागि आएको रकम खर्च हुन नसेर चितवनमा करिब साढे २ अर्ब रुपियाँ रकम फ्रिज भएको छ ।
समृद्ध नेपालको नारा लिएको सरकारले विकासको लागि जिल्लामा संघ र प्रदेश मार्फत पठाएको रकम खर्च हुन नसकेको हो । यसरी विकास बजेट खर्च नगर्नेमा संघ अन्तरगतका कार्यालयहरु धेरै रहेका छन् ।
गत आर्थिक वर्ष २०७५÷०७६ मा आएको कुल बजेट मध्य २ अर्ब ४५ करोड २३ लाख ५० हजार रुपियाँ खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय भरतपुरका सुचना अधिकारी कृष्णबहादुर अधिकारीले जानकारी दिनु भएको छ । संघ अन्तरगत कार्यालयले एक अर्ब ४१ करोड रुपैयाँ खर्च नभएर फ्रिज गराएका छन् भने प्रदेश अन्तरगतका कार्यालयले ६४ करोड ३२ लाख ४२ हजार ५ सय ८८ रुपियाँ खर्च गर्न सकेका छैनन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका सुचना अधिकारी अधिकारीका अनुसार जिल्लामा आएको पुजीगत (विकास) बजेट ४ अर्ब ९३ करोड १६ लाख ३१ हजार रुपियाँ मध्य ३ अर्ब ५१ करोड २१ लाख २७ हजार रुपियाँ मात्र खर्च भएको छ । यसको आधारमा ७६ प्रतिशत मात्र बजेट खर्च पाइएको छ ।
विकासका कामहरु ढिलासुस्ती हुने, प्रकृया पूरा गर्न कठिनाइलगायतको कारणले गर्दा खर्च गर्न कठिन भएको हो । जिल्लामा आएको संघ अन्तरगत कुल बजेटको ८७ प्रतिशत मात्र खर्च भएको छ ।
चालु बजेट भने ९५ प्रतिशत खर्च भएको पाइएको छ । ३८ करोड ९६ लाख ४ हजार रुपियाँ खर्च नभएर फ्रिज भएको छ । जिल्लामा आएको चालु खर्च ९ अर्ब ६१ करोड १८ लाख ९० हजार रुपियाँमा ९ अर्ब २२ करोड २२ लाख ८५ हजार रुपियाँ खर्च भएको कार्यालयले जानकारी दिएको छ ।
पुजीगत खर्चमा संघ अन्तरगत रहेका जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाले सबैभन्दा धेरै खर्च गर्न सफल भएको छ । यस कार्यालय मार्फत ९९ प्रतिशत बजेट खर्च भएको छ । सबै भन्दा कम खर्च गर्ने कार्यालयमा डिभिजन सडक कार्यालय भरतपुर रहेको छ । यसले ३६ प्रतिशत मात्र बजेट खर्च गरेको छ । दोस्रो धेरै विकास बजेट खर्च गर्नेमा सघन शहरी तथा भवन आयोजना रहेको छ । यो कार्यालयले ९४ प्रतिशत बजेट खर्च गरेको छ ।
प्रदेश अन्तरगत रहेका कार्यालयहरुले कुल बजेटमा ६७ प्रतिशत मात्र खर्च गर्न सफल भएका छन् । प्रदेश अन्तरगतको कुल ६४ करोड ३२ लाख ४२ हजार ५ सय ८८ रुपियाँ खर्च हुन सकेको छैन । कुल पुजीगत बजेट १ अर्ब ७९ करोड ७९ लाख ५७ हजार रुपियाँमा १ अर्ब १५ करोड ४७ लाख १४ हजार ५ सय ४ रुपियाँ मात्र खर्च भएको छ । पुजीगत बजेटको ६४ प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय भरतपुरले जानकारी दिएको छ । पुजीगतको तुलनामा चालु बजेट भने धेरै खर्च भएको पाइएको छ । चालु बजेटको ७९ प्रतिशत खर्च भएको छ ।

शेयर गरौ

ताजा अपडेट