काठमाडौं १३ साउन । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा पक्षीय नेताहरू नै पार्टीका रिक्त संरचनाको पूर्ति सहमतिमा गर्ने कि निर्वाचनबाट भन्नेमा विभाजित भएका छन् ।
जारी बैठकमा मुख्य एजेन्डाका रूपमा रहेको १४औं महाधिवेशनको विषयमा केन्द्रित भइरहँदा आइतबारको बैठकमा संस्थापन पक्षकै नेताहरू रिक्त संरचनाको पूर्ति सहमति कि निर्वाचनबाट भन्नेमा विभाजित देखिएका हुन् ।
गत शुक्रबारको बैठकमा संस्थापन पक्षका नेताहरूले सहमतिबाट रिक्त सबै तहको संरचना बनाउँदा महाधिवेशनमा तत्काल जान सकिने धारणा राखेका थिए । तर, आइतबारको बैठकमा भने संस्थापन पक्षकै नेताहरूबाट फरक फरक धारणा आएको हो ।
‘मेरो त प्रस्ट कुरा छ, सहमति यहाँबाट मात्रै गरेर हुँदैन । तलसम्म सहमति गर्न गाह्रो छ त्यसैले अलमल गरेर हुँदैन भन्ने धारणा मैले बैठकमा राखेको छु । निर्वाचनको विकल्प छैन,’ नाम उल्लेख नगर्न भन्दै देउवा पक्षका ती केन्द्रीय सदस्यले राजधानीसँग भने ।
उनले संरचनाको अलमलले महाधिवेशनमा समेत शंका उब्जाएको भन्दै महाधिवेशनका लागि विश्वासको वातावरण बन्नुपर्ने जनाए ।
इतर पक्षका नेता डा. रामशरण महतले बैठकमा सहमति र निर्वाचन दुवै विषयमा बहस भइरहेको जनाए । तर, सबै संरचनाको पूर्ति विधानअनुसार निर्वाचन प्रक्रियाबाटै हुनुपर्नेमा आफूहरूको जोड रहेको उनले जनाए ।
‘विधानमा जे छ, त्यसरी नै गर्नुपर्छ भन्ने हाम्रो माग हो । सहमति गरे पनि निर्वाचन प्रक्रियामा गएर उम्मेदवारी हाल्दा सहमति गर्न सकिन्छ । त्यो स्थानीय साथीहरूको कुरा हो । हामीले विधि र प्रक्रियालाई किन मिच्ने ?’ डा. महतले भने ।
कांग्रेसको जारी बैठकमा १४औं महाधिवेशनमा जाने विषयलाई प्रस्ट रूपमा एजेन्डामै राखेको भए पनि संरचना नै नहुँदा महाधिवेशनमा कसरी जाने भन्नेमा विवाद हुँदै आएको छ ।
कांग्रेस विधानको धारा ७२ (४) अनुसार पार्टीका रिक्त संगठन अन्तरिम व्यवस्थाअनुसार गठन हुने व्यवस्था छ । यसरी विधानअनुसार रिक्त संरचनालाई पूर्णता दिएर मात्रै कांग्रेस १४औं महाधिवेशनमा जान सक्ने देखिएको छ ।
बैठकको सुरुवातबाटै पार्टीको रिक्त संरचनाको भर्पाई सहमतिमा गर्ने कि निर्वाचन प्रक्रियाबाट भन्नेमा विवाद देखिँदै आएको थियो ।
केही नेताले भने महाधिवेशनको मिति तय गरेरै संरचनाको विवाद अन्त्य गर्न नेतृत्वलाई बैठकबाटै दबाब दिँदै आएका छन् । तर, संस्थापन पक्षका नेताले भने मतदाता नामावली नै नभई निर्वाचनको मिति तोक्न नमिल्ने अडान लिँदै आएका छन् ।
केही नेताले भने पुरानै संरचनालाई आधार मानेर समेत त्यसबाट क्रियाशील सदस्यताको टुंगो लगाएर महाधिवेशनको मिति टुंग्याउन सकिने धारणा राखेका छन् ।
पुरानै २ सय ४० निर्वाचन क्षेत्रलाई आधार बनाएर क्रियाशील सदस्यता वितरण गर्नुपर्ने र महाधिवेशनको मिति तय गर्नुपर्ने धारणा नेताहरूले राखेका हुन् ।
आइतबारको बैठकमा केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, डा. रामशरण महत, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, बालकृष्ण खाण, रमेश रिजाल, डा. नारायण खड्का, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, हृदयराम थानी, डा. डिला संग्रौला, सरिता प्रसार्इं, अतहर कमाल मुसलमान र आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेयले आ–आफ्नो धारणा राखेका थिए ।
राजधानी दैनिक बाट


