गैंडाको मृत्यु ६५ प्रतिशतले बढ्यो, चोरी शिकारी रोकिएकै वर्ष गैंडाको प्राकृतिक मृत्यु बढी

चितवन, १२ साउन :

विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडाको प्राकृतिक मृत्यु नेपालमा अस्वाभाविक रुपमा बढेको छ ।

चोरी शिकारी रोकिएको वर्ष प्राकृतिक मृत्यु अस्वाभाविक रुपमा बढेपछि चितवन राष्ट्रिय निकुञ्जको क्षमतामा प्रश्न उठेको छ । चितवन राष्ट्रिय निकुञ्जले दिएको जानकारीअनुसार गत आर्थिक वर्षमा ४३ वटा गैंडाको मृत्यु भएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६५.४ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०७४/०७५ मा २६ गैंडा प्राकृतिक कारणले मरेका थिए । २०७४/०७५ मा २६ गैंडा मर्दा निकुञ्जले आश्चर्यजनक भनेको थियो । तर गत वर्ष २०७५/०७६ मा झनै बढी गैंडा मरे । यतिका संख्यामा गैंडा मर्नुको कारण प्राकृतिक कारण बढी देखिए पनि संख्या अस्वाभाविक भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए । ‘यतिधेरै संख्यामा गैंडा कालगतिले मरेको देख्दा हामीलाई आश्चर्यमा पारेको छ,’ प्रमुख संरक्षण अधिकृत ढकालले भने ‘यसको अनुसन्धान जारी छ ।’ गैंडाहरु जुधेर, बुढो भएर, करेन्ट लागेर, दलदलमा फसेर, पानीले बगाएर, बाघले बच्चा खाएर, संक्रमण भएर, गोहीले आक्रमण गरेर मर्ने गरेका छन् । होटलको सेफ्टी ट्यांकीमा खसेरसमेत गैंडा मरेका छन् ।

तर, गत वर्ष मरेका ४३ गैंडामध्ये २३ वटाको मृत्युको कारण अझै थाहा हुन नसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकाल बताउँछन् । झण्डै तीन वर्षयता चोरी शिकारीबाट भने चितवन राष्ट्रिय निकुञ्जमा एउटा पनि गैंडा मरेका छैनन् । २०७३ चैत २५ गते बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा तस्करहरूले एउटा गैंडा मारेका थिए ।

त्यसयता तस्करले गैंडा मार्न नसकेको निकुञ्जका अधिकारीहरु बताउँछन् । तस्करले गैंडा मार्ने क्रम रोकिए पनि अन्य कारणले गैंडा मर्ने क्रम बढेपछि संरक्षणकर्मीहरूलाई चिन्तित बनाएको छ ।रासस

शेयर गरौ

ताजा अपडेट