काठमाडौं, ११ साउन :
आईसीसी टी–ट्वेन्टी विश्वकप छनोटअन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपाल विजयी भएको छ ।
आज भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो । सिंगापुरको ईन्डियन एसोसियसन क्रिकेट मैदानमा कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले १६ ओभरमा मात्र ३ बिकेट गुमाएर पुरा गर्यो । जितसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
अब नेपालले भोलि आयोजक सिंगापुरसँग अन्तिम खेल खेल्नेछ । सिंगापुरलाई पराजित गरे नेपाल शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्ने छ । नेपालको जितमा कप्तान पारस खड्काले कीर्तिमानी अर्धशतक बनाए । ओपनरसमेत रहेका कप्तान पारसले ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।
३२ बलमा अर्धशतक बनाएका पारसले ११ चौका र १ छक्का प्रहार गरे । योसँगै कप्तान पारस टी–ट्वेन्टी अन्तर्राष्ट्रियमा तीन अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । यसअघि कप्तान पारसले नेदरल्यान्ड र मलेसियाविरुद्ध अर्धशतक बनाएका थिए । यस्तै शरद भेषवाकरले ३८ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । कुवेतका लागि कप्तान मुहमद कासिफले अविजित रहँदै सर्वाधिक ४९ रन बनाए । यस्तै आदनन इद्रेसले २५ तथा मोहमद आस्लमले २३ रन बनाए । त्यसबाहेक राभिजा डी सिल्भाले १५ र बिलाल ताहिरले १३ रन जोडे । कुवेतलाई सस्तैमा रोक्न स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीले ३/३ विकेट लिए ।
सन्दीपले ४ ओभरमा २१ रन खर्चिए भने बसन्तले २० रन खर्चिए । यस्तै करण केसीले २ तथा अविनाश बोहराले १ विकेट लिए ।


