विधिको शासनबाट मात्रै कम्युनिष्ट आन्दोलन दीर्घकालीन हुन्छ : कृष्णभक्त पोखरेल

चितवन, साउन ७ गते । नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले विधिको शासन र लोकतान्त्रिक प्रक्रियाबाट मात्रै नेपालमा कम्युनिष्ट आन्दोलनलाई दीर्घकालीन रूपमा स्थापित गर्न सकिने बताउनुभएको छ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आठौँ स्मृति दिवसका अवसरमा बिहीबार नारायणगढमा आयोजित कार्यक्रममा उहाँले नेतृत्व चयन व्यक्तिकेन्द्रित नभई विधि र प्रक्रियाअनुसार हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले एउटै व्यक्ति लामो समयसम्म नेतृत्वमा रहँदा परिवर्तनको अनुभूति हुन नसक्ने र समाजले पनि त्यसलाई सहज रूपमा स्वीकार नगर्ने बताउनुभयो। “नेपालमा कम्युनिष्ट आन्दोलनको आवश्यकता र महत्व अझ बढेको छ। तर लामो समयसम्म एउटै व्यक्तिले नेतृत्व गर्दा समाजले त्यसलाई रुचाएको छैन,” उहाँले भन्नुभयो, “त्यसैले पार्टी व्यक्ति होइन, विधि र प्रणालीका आधारमा सञ्चालन हुनुपर्छ।”

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता ईश्वरी भट्टराईले नेपालका कम्युनिष्ट शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले पुष्पलालको सपना विभाजन नभई एकतामार्फत समाज परिवर्तन गर्ने रहेको उल्लेख गर्दै आपसी मतभेद संवाद र छलफलबाट समाधान गरी एक ढिक्का हुनुपर्ने बताउनुभयो।

नेकपा (माले) की नेतृ भगवती घिमिरेले नेपाल र नेपालीको समृद्ध भविष्य कम्युनिष्ट आन्दोलनले अवलम्बन गर्ने सिद्धान्त र उद्देश्यसँग जोडिएको बताउनुभयो। समाजवादको दिशामा अघि नबढेसम्म मुलुकको भविष्य सुनिश्चित हुन नसक्ने उहाँको भनाइ थियो।

कार्यक्रममा डी.आर. पोखरेलले पुष्पलालको राजनीतिक योगदान र विचारसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत कार्यपत्रमाथि सहभागीहरूले छलफल गरेका थिए। सो अवसरमा केशवलाल श्रेष्ठ, नेकपा (एमाले) चितवनका अध्यक्ष कमल पाठक, दावा लामा, रमाकान्त सापकोटालगायतले पनि मन्तव्य राख्नुभएको थियो। पुष्पलाल स्मृति प्रतिष्ठान चितवनको आयोजनामा भएको कार्यक्रमको सञ्चालन तेजेन्द्रबहादुर खड्काले गर्नुभएको थियो।

शेयर गरौ

ताजा अपडेट