कञ्चननपुर, १० साउन :
कञ्चननपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज एक वर्ष पुरा भएको छ ।
घटनाको एक वर्ष बितिसक्दा पनि सरकारले अपराधी अझै पत्ता लगाउन सकेको छैन । गत वर्ष साउन १० गते साथीको घर जान भन्दै घरबाट हिँडेकी किशोरीको भोलिपल्ट बिहान घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । सरकराले हत्यारा पत्ता लगाउन भन्दै गरेका सबै प्रयास अहिलेसम्म खेर गएका छन् ।
यद्यपि सरकारले हत्यारा पत्ता लगाएर कानुनी कठघरामा ल्याउने रटान भने छाडेको छैन । एक वर्षको अवधिमा किशोरीको हत्याको छानविनका लागि आधा दर्जन भन्दा बढी समिति बनेका छन् । सबै समितिले किशोरीको बलात्कारपछि हत्या भएको निष्कर्ष निकाले पनि हत्यामा संलग्न भने किटान गर्न सकेको छैन । हत्याको अनुसन्धानका लागि सरकारी तबरबाटै गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गत वर्ष भदौ ७ गते पाँच सदस्यीय छानबिन समिति बनाइएको थियो ।
प्रहरीका डीआईजीहरू र उच्च तहका सरकारी अधिकारी सम्मिलित सो समितिले स्थलगत अध्ययनपछि गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन समेत बुझाइसकेको छ । तर, सो प्रतिवेदन अहिलेसम्म अलपत्र छ ।
यसबाहेक राष्ट्रिय मानवअधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआईजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदनहरू तयार भएका छन् ।
अहिलेसम्मका कुनै पनि प्रतिवेदनले अभियुक्तको किटानी गर्न सकेका छैनन् । घटनामा संलग्नको शंकामा दुई दर्जन बढीको डिएनए समेत जाँच भइसकेको छ । तर कसैको पनि किशोरीको भेजिनल स्वावसंग मेल खाएको छैन ।


