चितवन समाचार डटकम,८ साउन ।
निरन्तर बर्षा सगैं आउन सक्ने बिपद लाई मध्यनजर गरी चितवनमा उद्धार तथा राहतका लागि आवश्यक सतर्कता र सावधानी कायम गरिएको जिल्ला बिपद ब्यवस्थापन समितिले जनाएको छ ।
समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आवश्यक सतर्कता र सावधानीमा कुनै कमी हुन नदिइएको चितवन समाचार डटकमलाई बताउनुभयो ।
आज बिहान भरतपुर महानगरपालिका वडा नम्वर २५ पटिहानीमा राप्ती नदी र सुवारी खोला मिसिएको ठाँउमा रहेको तटबन्ध बाढीले बगाएपछि त्यसको पुननिर्माणको लागी सुरक्षाकर्मीको टोली खटाइएको प्रजिअ बस्नेतले जानकारी दिनुभयो । त्यहाँ करिव ४० जना सुरक्षाकर्मी खटाइएको उहाँले बताउनुभयो ।

जिल्लाको माडी क्षेत्रमा रहेका खोला खहरेहरुमा बाढी बढेपनि दिउसो सम्म खतराको अवस्था नदेखिएको उहाँले बताउनुभयो ।
स्थानीय तहमा पनि पालिका प्रमुखहरुको संयोजकत्वमा बिपद समिति बनेकाले समन्वयमा सहजता भएको बस्नेतले जानकारी दिनुभयो ।
आईपर्न सक्ने बिपदलाई सामाना गर्न जिल्लामा रहेका दुई नम्वर बिपद ब्यवस्थापन गण, कुरिनटारको सशस्त्र प्रहरीको बिपद ब्यवस्थापन तालिम केन्द्र, यहाँका सबै सुरक्षा संयन्त्र, स्थानीय तह, रेडक्रस आदि सबै सरोकारवाला उच्च सतर्कतामा राखिएको प्रजिअ बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार दिउँसो सम्म अविरल बर्षा, बाढिले कुनै अप्रिय अवस्था आएको छैन ।
बाढी पूर्वानुमान महाशाखाले आज चितवन , पर्सा , बारा , मकवानपुर , नवपलपुर , परासी , पाल्पा , अर्घाखाँची , रुपन्देही , कपिलबस्तु , दाङ , बाँके , बर्दिया , कैलाी , कन्चनपुर लगायत आसपास जिल्ला लगायत प्रदेश १ २ ३ र ५ र गण्डकी प्रदेशका चुरे र पहाडबाट बहने साना नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ ।


