चितवन समाचार डटकम, ८ साउन ।
भरतपुर महानगरपालिकाले गौरवको योजनाको रुपमा नारायणगढ बजारमा बाह्र तले ‘भरतपुर मेट्रो प्लाजा’को निर्माण थाल्ने तयारी गरेको छ ।
कार्यपालिकाको वोर्ड बैठकले दशैं अघि नै निर्माण थाल्ने योजना अनुरुप निर्माण सम्झौताका कामहरु अघि बढाउने तयारी गरेको हो ।
लागत स्टमेट गर्न जिम्मेवारी दिएको अरनीको डिजाईनर्स एण्ड प्लानर्स कन्सलटेन्ट एजेन्सीले करिव एक अर्व १० करोडको लागत अनुमान निकालेकोले सोही अनुरुप बजेट ब्यवस्थापन गर्न लागिएको महानगरका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
बोर्ड बैठकले यस लागत मध्ये ३० प्रतिशत महानगरले ब्यवस्थापन गर्ने र बाँकी नगर बिकास कोषबाट ऋण सहयोग लिने निर्णय गरेको सुवेदीले जानकारी दिनुभयो ।
‘यो ऋणका लागि कोषले ८ प्रतिशत ब्याजको प्रस्ताव गरेको छ । तर, यो दरलाई घटाउन महानगर प्रमुखले प्रयत्न गरिरहनुभएको छ ।’ सुवेदीले भन्नुभयो ।
दशैं अघि नै निर्माणको प्रक्रिया आरम्भ गर्ने उदेश्यले महानगर अघि बढेको महानगर प्रमुख रेनु दाहलले बताउनुभयो ।
‘नगर बिकास कोष संग संम्झौता हामी छिट्टै गर्दैछौं, त्यस पछि फटाफट टेण्डरको काम अघि बढ्नेछ ’ प्रमुख दाहालले भन्नुभयो ।

नरायणगढ बजारको लायन्स चोकमा पुरानो तरकारी मण्डी भएका स्थानमा यो प्लाजा बनाउन लागिएको छ । आगामी तिन बर्ष भित्र निर्माण पुरा गर्ने लक्ष्य छ ।
दुईतले भूमीगत पार्कीङ्ग बाहेक १२ तले प्लाजा निर्माण हुनेछ । करिव १५ बर्षमा यसको लागत प्राप्तीहुन सक्ने महानगरको अनुमान छ ।


