चितवन १५ माघ ।
भरतपुरमा निर्माण हुन लागेको आधुनिक अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको भोली औपचारिक रुपमा घोषणा हुदैछ ।
नेपालमा नै सुविधा सम्पन्न रंगशाला निर्माणको लागि धुर्मुस–सुन्तली फाउन्डेसनले जिम्मा लिदैछ । यो कार्यक्रम चितवनको मात्र नभइ नेपालको लागि गौरव र खुसीको विषय हो । भोली राष्ट्रिय सभा गृहमा दिउसो १ः३० बजे हुने सम्झौताका लागि चितवनबाट एकसय भन्दा धेरैको सहभागीता हुदैछ ।
भरतपुर महानगरपालिकाका जनप्रतिनिधि तथा यहाँका विशिष्ठ व्यक्ति कार्यक्रममा सहभागीता जनाउनको लागि विहान काठमाण्डौ जादैछ ।
भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्य, वडा अध्यक्षहरु, प्रदेश साँसदहरु, चितवनबाट प्रतिनिधि सभामा विजयी भएका साँसद, खेलसंग सम्वन्धीत विभिन्न व्यक्तिहरुको सहभागीता हुने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिनु भयो । यो हाम्रो लागि गौरवको विषय हो त्यसैले हामी यहाँबाट धेरै काठमाण्डौ जादैछौ । भरतपुर महानगरपालिका र फाउण्डेसन बीच निर्माणको लागि सम्झौता हुदैछ । काठमाण्डौको कार्यक्रम पछि चितवनमा वृहत कार्यक्रमको आयोजना गरेर यसको विस्तृत जानकारी दिने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनु भयो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको छेउमा रहेको २० बिगाहा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला महानगरको वडा नं. १५ मा पर्दछ । भरतपुरबाट नजिक रहेको यो जग्गाको लागि महानगरको वडा नं. २० मा रहेको जग्गामा साटेको हो । निर्माण हुने यो रंगशालाले खेल क्षेत्रको लागि ठुलो उपलब्धी भएको क्रिकेट खेलाडी पारस खड्काले बताउनु भयो ।
भरतपुरमा रंगशाला निर्माणको लागि यहाँको नेतृत्वले धेरै मेहनत गर्नु परेको थियो । जनताको चाहना अनुसारको विकासको कामले गति नलिएको भन्ने गुनासोलाई चिर्दै यहाँको नेतृत्वले निरन्तर छलफलपछि रंगशाला निर्माणका लागि २० बिघा ६ कठ्ठा जग्गा उपलब्ध गराउने कृषि विश्व विद्यालयसंग सहमती भयो ।
महानगर, कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिविबीच २०७५ असोज १९ गतेका दिन त्रिपक्षीय सम्झौता भयो । सो सम्झौतामा रंगशाला निर्माणको लागि जग्गा, लगानी र स्रोतको खोजी भरतपुर महानगरपालिकाले गर्नुपर्ने उल्लेख गरिएको छ । देशको गौरवको संरचना निर्माणको नेतृत्व भरतपुर महानगरपालिकाले लिई स्वदेशी, विदेशी, सरकारी तथा गैरसरकारी, निजी क्षेत्रसँग सहयोगका लागि पहल गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख गरेको छ ।
दुइ वर्ष भित्र तीन अर्बको लगानीमा निर्माण हुने
अबको ६ महिना भित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण कार्य सुरु गर्ने तयारी रहेको छ । यो क्रिकेट रंगशाला दुई वर्ष भित्र तयार गरी भरतपुर महानगरपालिकालाई फाउण्डेशनले हस्तान्तरण गर्ने सहमति भएको छ, सोही समयमा निर्माण गर्नको लागि फाउण्डेशनलाई चुनौति छ । फाउण्डेशनले यस अगाडि आफ्नो तरिकाले निर्माण गरेको साना घरहरु जस्तो यो संरचना भने होइन ।
रंगशाला निर्माण कार्य सम्पन्न गर्न तीन अर्ब रुपैयाँ खर्च लाग्ने महानगरले अनुमान गरेको छ । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) का अनुसार महानगरपालिकाले उक्त जग्गामा अन्तरराष्ट्रिय स्तरको ३ वटा रंगशाला निर्माण गर्नेछ । ‘हामी एकदमै आतुर छौं’ कट्टेलले भन्नुभयो, ‘अबको ६ महिनाभित्रै रंगशालाको शिलान्यास गर्ने गरी काम अघि बढाएका छौं । सम्झौताको मितिबाट ६ महिना भित्र डीपीआर तयार हुन्छ ।’ डीपीआर तयार भएपछि निर्माणको कामलाई तिब्रता दिने उहाले बताउनु भयो । राष्ट्रिय गौरवको संरचना भएकाले सबैको सहयोगको आवश्यकता रहेको उहाले बताउनु भयो ।