प्रतिनिधिसभाको बैठक दश दिनपछि आज बस्दै

काठमाडौं, ८ साउन : 

बाढी, पहिरो र डुबानबारे छलफल गर्दा कस्ले पहिला बोल्ने भन्ने निहुँमा स्थगित भएको प्रतिनिधिसभाको बैठक दश दिनपछि बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकको संभावित कार्यसूची मंगलबार नै तयार गर्नुपर्ने भए पनि दलहरुबीचको विवादका कारण बुधबार बिहानसम्म तयार भएको छैन ।

बैठक चलाउनका लागि सभामुख कृष्णबहादुर महराले मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा दलहरुसँग छलफल गरे पनि सहमति नजुटेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

विपक्षी कांग्रेस राजपाले स्थगन प्रस्तावमाथि छलफल हुनुपर्ने अडान यथावत राखेका थिए । विपक्षीको प्रस्ताव सत्ता पक्षले अस्वीकार गरेकाले सहमति जुट्न नसकेको हो ।

दलहरुबीच सहमति हुन नसकेपछि सभामुख कृष्णबहादुर महराले विपक्षी दलले दर्ता गरेको स्थगन प्रस्ताव फिर्ता लिने र सत्ता पक्षको समेत सहभागीतामा साझा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेर छलफल गर्ने प्रस्ताव अघि सारेका छन् ।

सभामुखको प्रस्तावमा सत्ता पक्ष सहमत भए पनि विपक्षी दलले भने सहमति जनाइ नसकेकाले बुधबार बिहान ११ बजे फेरि दलका नेतासहितको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । आफ्नो प्रस्तावलाई विपक्षी तत्काल अस्वीकार गरे पनि बुुधबारको बैठकमा सहमति जुट्ने विश्वास सभामुख महराले व्यक्त गरेका छन् ।

दलहरुको छलफलपछि मंगलबार केही पत्रकारहरुसँग कुराकानी गर्दै महराले भने, ‘सदन खुलाउने विषयमा कुराकानी भयो । साझा प्रस्तावलाई विपक्षी दलका साथीहरुले अस्वीकार गरे पनि भोलि बिहानको बैठकमा कुरा मिल्छ भन्ने विश्वास लिएको छु ।’ राष्टियसभामा पनि विपक्षीले दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव फिर्ता लिएर साझा प्रस्तावमार्फत बाढी, पहिरो र डुबानबारे छलफल भएको थियो ।

कांग्रेस सचेतक पुष्पा भुसालले विपक्षीले प्रस्ताव ल्याउँदैमा सत्ता पक्षले छलफल नै गर्न नदिने अवस्था बेठीक भएको बताइन् । उनले भनिन्, ‘सभामुखले साझा प्रस्तावमार्फत जाउँ भन्नुभएको छ । बिहान ११ बजे बैठक बोलाउनुभएको छ । के गर्ने भन्ने विषय त्यही निष्कर्षमा पुग्छौैं ।’ सर्लाहीमा असार ५ गते प्रहरी इन्काउण्टरमा मारिएका विप्लव जिल्ला संयोजक कुमार पौडेलको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसद अवरुद्ध गरिरहेका विपक्षी कांग्रेस र राजपाले असार ३० गतेको बैठकमा बाढी, पहिरो र डुबानबारे छलफल गर्न गर्न स्थगन प्रस्ताव दर्ता गराएका थिए ।

तर बैठकको सुरुमै गृहमन्त्री रामबहादुर थापा बादलले बोल्ने कि सिधै प्रस्तावमाथि छलफल गर्ने भन्ने विषयमा विवाद हुँदा बैठक बुधबारसम्मका लागि स्थगित भएको थियो ।

शेयर गरौ

ताजा अपडेट