चितवन समाचार डटकम
७ साउन । नेपालीमा एउटा उखान छ । माल पाएर चाल नपाउने । भरतपुरमा यस्तै भएको छ । चितवनको मुटु भरतपुर । त्यसमा पनि चौविस कोठीदेखि वीरेन्द्र क्याम्पस गेट । यो जिल्लाकै पायक पर्ने स्थान । जहाँको जग्गा इन्चको पनि धेरै महत्व छ ।
यस्तै महत्वपूर्ण स्थानको जग्गा अहिले वेकामे भएको छ । जिल्लाकै पुरानो मध्यको एक चितवन माध्यमिक विद्यालयको जग्गा प्रयोग विहिन भएपछि गाँजा बारीमा परिणत भएको छ ।
मैयाँदेवी कन्या कलेज आगाडि रहेको खाली जग्गा अहिले गाँजा बारी भएको हो । केही वर्ष अगाडि साना झुप्रा व्यापार हुदै आएको क्षेत्रलाई खाली गरेपछि अहिले लागुपदार्थ सेवन गर्ने मानिसको लुक्ने स्थान भएको छ । गाँजाको जंगल भएपछि अपराधिक गतिविधि गर्ने व्यक्ति लुक्ने स्थान भएको भन्दै स्थानीयले आपत्ती जनाएका छन् । विद्यालयको जग्गामानै गाँजा बारी हुदा समेत यसको वेवास्ता गरेको भन्दै स्थानीयले सम्बन्धीत क्षेत्रलाई ध्यानाकर्षण गराएका छन् ।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालको दक्षिण तर्फ रहेको सो खाली जग्गा दुइ वर्ष अगाडि खाली गराइएको थियो । एक विगाह भन्दा धेरै क्षेत्रफल रहेको जग्गा भरतपुरको मुख्य स्थान हो । यहाँ भरतपुर महानगरपालिकाले पार्क निर्माण गर्ने योजना बनाएको छ । तर चितवन माविले यो जग्गालाई तारबार गरेर राखेको छ ।
खाली भएको जग्गामा पार्क निर्माण गर्ने योजना रहेपनि विद्यालयले यसलाई सहज रुपमा नस्वीकारेको भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले बताउनु भयो । ‘विद्यालयको जग्गा गाँजा बारीमा परिणत हुनु दुःखको कुरा हो ’ उहाले भन्नु भयो ‘खाली जग्गालाई छिटो व्यवस्थापन गरेर गाँजा फाड्नु पर्दछ ।’ सार्वजनिक जग्गा खोजी गरी संरक्षण गर्ने समितिका संयोजक समेत रहनु भएका भण्डारीले पायक पर्ने स्थानको जग्गालाई सुन्दर बनाउन सम्बन्धीत निकायको ध्यानाकर्षण गर्दछु भन्नु भयो ।


