चितवन समाचार डटकम, ७ साउन ।
सम्झौता बमोजिम काम नगर्ने निर्माण कम्पनीलाई भरतपुर महानगरपालिकाले कार्वाही गर्ने निर्णय गरेको छ ।
नगरकार्यपालिकाको आज बसेको ३१ औं बैठकले सम्झौता र सर्तअनुसार काम नगर्ने ठेकेदार र निर्माण कम्पनीलाई कालो सुचीमा राख्ने निर्णय गरेको महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले चितवन समाचार डटकमलाई जानकारी दिनुभयो ।
‘गत आर्थिक बर्षमा तोकिएको समयसिमा र सर्त अनुसार काम नगरेका यस्ता ठेकेदार र निर्माण कम्पनीलाई पहिचान गर्ने काम भईरहेको छ, सुची बनाएर कार्वाही हुनेछ’ भण्डारीले भन्नुभयो । प्रवक्ता भण्डारीका अनुसार करिव आधा दर्जन कम्पनीहरु कार्वाहीमा पर्नेछन् ।
महानगर प्रमुख रेनु दाहालले कतिपय ठेकेदार र निर्माण ब्यवसायीको लापरवाहीका कारण काममा समस्या आएको बताउनुभयो ।
‘तोकिएको समय कटाउने र कम गुणस्तरको काम गर्ने छुट कसैलाई छैन्, त्यस्तालाई कालो सुचीमा राख्नुको बिकल्प छैन’ प्रमुख दाहालले भन्नुभयो ।
समृद्ध महानगर निर्माण गर्ने अभियानमा सबैको साथ र सहयोग हुन जरुरी रहेको बताउदै प्रमुख दाहालले निर्माण ब्यवसायी तथा ठेकेदारहरुबाट पनि आवश्यक साथ मिल्नुपर्ने उल्लेख गर्नुभयो ।
गल्ती कमजोरी गर्नेलाई कार्वाही गर्ने निर्णयले राम्रो काम गर्नेहरुलाई प्रश्रय मिल्ने बिश्वास महानगरको रहेको प्रमुख दाहालले बताउनुभयो ।
महानगरपालिकाको वोर्ड बैठकले नारायणगढमा निर्माण गर्न लागिएको वहुउदेश्यीय ब्यवसायीक भवनका लागी नगर बिकास कोष संग ऋण सहयोग माग गर्ने निर्णय गरेको छ । करिव एक अर्व १० करोडको लगानीमा महानगरले भवन निर्माण गर्न लागेको छ ।
यस भवनका लागी ३० प्रतिशत लगानी रकम भने महानगर आफैले बेहोर्ने निर्णय भएको प्रमुख दाहालले जानकारी दिनुभयो ।
बैठकले आर्थिक बर्ष २०७६–०७७ को नीति कार्यक्रम पुस्तिका प्रकाशन गर्ने निर्णय गरेको छ ।
साथै नगरसभाको क्रममा वाँडफाड गरिएको बिषयगत समितिमा आज जिम्मेवारी पनि बिभाजन गरिएको छ । नेकपालाई ६ र नेपाली काँग्रेसलाई ४ वटा हुने गरी समिति बाँडफाँड भएको थियो ।


