गुल्मी, ७ साउन ।
अविरल वर्षाले गुल्मीको सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर बगाउँदा ज्यान गुमाउनेको संख्या नौ जना पुगेको छ । चार जना बेपत्ता छन् ।
सत्यवती गाउँपालिका–३ को दाङसिंगाको कसिङथलामा आमा र छोराको मृत्यु भएको छ । सत्यवती–३ कै सिङदीमा २ जना बेपत्ता भएको स्थानीय मनबहादुर राहाडीले जानकारी दिएका छन् ।
ठूलोलुम्पेकको कसिङथलामा स्थानीय ३० वर्षीय तिलकुमारी तरामुको घर पहिरोमा पुरिएको छ । पहिरोले पुरेर तिलकुमारी र उनका १० वर्षीय छोरा दर्शनको मृत्यु भएको छ । सोही घरबाट २ जनालाई सकुशल उद्दार गरिएको छ । सिङदीमा पहिरोले घर पुरिंदा माया विक र १७ वर्षीय बवी विक बेपत्ता छन् । पहिरोले गाउँमा २० घर बढी जोखिममा परेको वडा सदस्य अर्जुन तरामुले जानकारी दिएका छन् ।
सत्यवती गाउँपालिका–४ लिम्घा भीरकुनामा अहिलेसम्म ५ जनाको मृत्यु भएको स्थानीय कृष्ण भण्डारीले जानकारी दिएका छन् । भिरकुनाका मनबहादुर विक, कालु विक, छलि विक र चन्द्रे विक लगायत दर्जन बढी घरमा पहिरोले क्षति पुगेको छ । चार जना पहिरोमा बेपत्ता छन् । बेपत्ता भएकाको अहिलेसम्म केही जानकारी नआएको उनले बताएका छन् ।
लिम्घाको भीरकुनाका ६ घरमा पूर्ण रुपमा क्षति पुगेको छ । तीन घरमा ९ जना बस्दै आएको जनाइएको छ । लिम्घाको भीर कुनामा माथिल्लो भाग र पूर्वबाट पहिरो झर्दा १० घर बढीका बासिन्दालाई सुरक्षित स्थानमा लैजान स्थानीय उद्धारमा खटिएका छन् । यहाँ अझै पनि २० घर बढी जोखिममा रहको स्थानीय भरत शाहीले बताएका छन् । बिहान ३ बजेपछि यहाँ ठूलो पानी परेको थियो । अहिले पनि लेदो माटोसहित पहिरो खसेको उनले बताए । घटनाबारे थप विवरण आउन बाँकी छ ।
बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली त्यसतर्फ गएको छ ।


