विपि र पुष्पलाल राजनीतिक बिचारक

डा. देवी क्षेत्री दुलाल

बी.पी. कोइरालाको जन्म वि.सं. १९७१ भदौ २४ गते भारतको वाराणसी सहरमा भएको थियो । पिता कृष्णप्रसाद कोइरालालाई तत्कालीन राणा सरकारले सर्वस्वहरण गरेपछि उहाँ बाध्य भएर भारत प्रवासमा जानुभएको थियो । त्यही समयमा बीपीको जन्म भएको थियो । पछि उहाँ नेपालको राजनीतिक इतिहासमा प्रथम जननिर्वाचित प्रधानमन्त्री हुनुभयो । नेपाली काँग्रेसको संस्थापक नेता हुँदै पछि पार्टीको सभापति बन्नुभयो । पार्टीको आधिकारिक राजनीतिक विचारको रूपमा प्रजातान्त्रिक समाजवादको प्रतिपादन गर्नुभयो । बीपी आफ्नो अध्ययनको प्रारम्भिक चरणमा कम्युनिष्ट राजनीतिक विचारबाट प्रभावित भएको कुरा उहाँको आत्मवृत्तान्तको अध्ययनबाट थाहा हुन्छ । बीपीको मृत्यु २०३९ साल साउन ६ गते काठमाडौँमा भयो ।
यस्तै पुष्पलाल श्रेष्ठको जन्म वि.सं. १९८१ मा रामेछाप जिल्लाको भँगेरीमा भएको थियो । पिता भक्तलाल श्रेष्ठ जागिरको क्रममा रामेछाप रहँदा पुष्पलालको जन्म भएको थियो । पुष्पलाल आफ्नो राजनीतिक जीवनको प्रारम्भिक चरणमा नेपाली काँग्रेससँग आबद्ध हुनुहुन्थ्यो । पछि काँग्रेसबाट अलग भएर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । पार्टीको आधिकारिक राजनीतिक विचारका रूपमा नौलो जनवादको प्रतिपादन गर्नुभयो । उहाँको निधन २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित गोविन्दवल्लभ अस्पतालमा भयो ।
बीपीद्वारा प्रतिपादित प्रजातान्त्रिक समाजवादका थुप्रै नवीन राजनीतिक, आर्थिक एवं दार्शनिक पक्ष छन् । जसले नेपालको राजनीतिक वैचारिक अभियानमा मार्गदर्शनको काम गर्न सकेको देखिन्छ । बीपीले कम्युनिष्ट विचारको आर्थिक कार्यक्रमलाई पँुजीवादी राजनीतिक विचारसँग संयोजन गरेर प्रजातान्त्रिक सनाजवादको विकास गर्नुभयो । प्रजातान्त्रिक समाजवादकै आलोकबाट नेपालमा नेपाली काँग्रेस जनतामा स्थापित हुन सक्यो । बीपीको अनुपस्थितिमा पनि उक्त विचार त्यत्तिकै सान्दर्भिक देखिएको छ । नेपालको राष्ट्रिय राजनीतिमा प्रजातान्त्रिक समाजवाद एउटा मुख्य राजनीतिक विचारको रूपमा स्थापित भएको छ । बीपी राजनीतिक विचारकका रूपमा स्थापित हुनुहुन्छ । बीपीको प्रजातान्त्रिक समाजवादी विचारलाई नेपालको राष्ट्रिय राजनीतिले मात्र नभई राजनीति शास्त्रको अध्ययनमा समेत प्रमुख विषय बनेको छ । दक्षिण एसियाली राजनीतिक मञ्चमा डेमोक्रेटिक सोसलिजम् स्कुलको रूपमा विकास भएको छ । यसै कारण प्रजातान्त्रिक समाजवाद एउटा मूल राजनीतिक विचार हो भने बीपीप्रजातान्त्रिक समाजवादको विचारक हो । बीपी नेपालको आधुनिक राजनीतिको एक मुख्य राजनीतिक विचारक मानिनुहुन्छ । यसका साथै कोइराला सुप्रसिद्ध साहित्यकार पनि हुनुहुन्छ । उहाँले फ्रायडवादी यौन मनोविज्ञानलाई नेपाली साहित्यमा अनुप्रयोग गर्नुभयो । मूलतः कथा र उपन्यासमा बीपीले यो विचारको सफल प्रयोग गर्नु भएको छ । यसरी नेपाली साहित्यमा बीपीले महŒवपूर्ण योगदान पु¥याउनुभएको छ ।
पुष्पलालले पार्टी स्थापनासँगै माक्र्सवादको सार्वभौमिकतालाई आत्मसात् गर्दै नेपालमा नयाँ जनवादको राजनीतिक विचारको विकास गर्नुभयो । नयाँ जनवाद पुरै शास्त्रीय माक्र्सवाद जस्तो छैन तर माक्र्सवादको सारतत्वलाई आत्मसात् गरिएको छ । चीनको नयाँ जनवाद जस्तो पनि छैन । नेपालकै सापेक्षतामा मिल्ने नयाँ कम्युनिष्ट विचारको रूपमा अघि सारेको देखिन्छ । पुष्पलालको नयाँ जनवादले नेपाली समाजमा भएको सबैखाले अन्याय, अत्याचारको अन्त्य गरेर समतामूलक तथा समाजवादी राज्य व्यवस्थाको स्थापना गर्ने परिकल्पना गरेको छ ।
नयाँ जनवादले शास्त्रीय कम्युनिष्ट सिद्धान्तको जस्तो बल प्रयोगको विषयलाई अनिवार्य त ठानेको छ, तर त्यसको विकल्पमा शान्तिपूर्ण जनआन्दोलनको पक्षमा पनि उत्तिकै महŒव दिएको
छ । कम्युनिष्ट पार्टीको अधिनायकत्व नभई जनताको अधिनायकत्वमा विश्वास गरेको छ । प्रमुख शत्रुलाई पराजित गर्दै जनताको राज्यसत्ता निर्माण गर्ने, अन्य शक्तिसँग मोर्चागत या संयुक्त आन्दोलन गर्न सकिने सोच अघि सारेको देखिन्छ । शान्तिपूर्ण र संसदीय चुनावी प्रतिस्पर्धाबाट पनि पार्टी र पार्टीको विचारलाई अनुमोदन गर्नुपर्छ भन्ने नयाँ जनवादको नयाँ राजनीतिक सोच हो । राजनीतिक आर्थिक एवं दार्शनिक पक्षमा समेत नयाँ जनवादी राजनीतिक विचारले केही नवीन सोच अघि सारेको छ । यिनै राजनीतिक पक्ष र विचारको मिश्रण भएबाट पुष्पलालद्वारा प्रतिपादित नयाँ जनवाद नेपालको राजनीतिमा अर्को नयाँ राजनीतिक विचार हो ।
नयाँ जनवादको प्रणेता पुष्पलाल नेपालको राजनीतिमा एक मुख्य राजनीतिक विचारकका रूपमा स्थापित हुनुभएको छ । आज नेपालमा जे जति कम्युनिष्ट पार्टी छन्, ती सबैका साझा नेता पुष्पलाल हुनुहुन्छ । जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद हुँदै आजको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अपनाएको जनताको जनवाद पनि पुष्पलालको विचारको विकसित एवं परिमार्जित रूप हो । राजनीतिक विचार निर्माणको अतिरिक्त नेपाली समाजको तथ्यपरक अध्ययन र इतिहासको वस्तुवादी अध्ययनमा पुष्पलालले महŒवपूर्ण योगदान पु¥याउनुभएको छ । उहाँद्वारा लिखित रचनाहरूको अध्ययनबाट यस कुराको पुष्टि हुन्छ ।
यसरी आज बी.पी. र पुष्पलालले प्रतिपादन गरेको राजनीतिक विचारको आलोकमा नेपालका वर्तमान राजनीतिक संस्थाहरू निर्देशित र क्रियाशील छन् । यी कारणबाट पनि उहाँहरूको राजनीतिक विचारको स्थापित भएको छ ।
(लेखक पत्रकार हुनुहुन्छ ।)

शेयर गरौ

ताजा अपडेट