काठमाडौ, ७ साउन :
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अमेरिका र भारतप्रति नरम देखिएको छ ।
पार्टी एकताका क्रममा निर्वाचन आयोगमा दर्ता गरेको दस्ताबेज १४ महिनापछि संशोधन गर्दै नेकपाले अमेरिका र भारतप्रति नरम नीति लिएको हो । राजनीतिक दस्ताबेजको दुई ठाउँबाट अमेरिकी शब्द झिकेर अमेरिकालाई हेर्ने दृष्टिकोण नरम बनाइएको छ। दस्ताबेजमा अमेरिकी नीतिका कारण व्यापार युद्ध हुन सक्ने सम्भावना औंल्याएको थियो ।
अमेरिकाले अन्य मुलुकबाट आयातित वस्तुमाथि कडा भन्सार नीति लागू गर्दै आफ्नो एकाधिकार पुँजीलाई संरक्षण गर्न चालेको कदमले मतभेद चुलिँदै गएर व्यापार युद्ध हुन सक्ने आशंकासमेत गर्न थालिएको दस्ताबेजमा उल्लेख थियो। तर अहिले छापिँदै गरेको दस्ताबेजमा अमेरिकी शब्द झिकेर पश्चिमा शक्ति राष्ट्रहरू भन्ने शब्द राखिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।


