चितवन ६ साउन । चितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्षमा गरेका कार्यप्रगतिको विवरण सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्ष २०७५÷०७६ मा नगरपालिकाले गरेका कामहरु सोमवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गरिएको हो । गत वर्ष खैरहनीले ५.८५ प्रतिशत खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिनु भयो । उहाका अनुसार चालु खर्च तर्फ ८२.०५ प्रतिशत र पूजीगत तर्फ ८९.६५ प्रतिशत खर्च भएको छ ।
समपुरक केही योजना वैशाखमा मात्रै प्राप्त हुनु, काम सम्पन्न भएको योजनाको भुक्तानी नहुनु, अलकत्रका कारण केही सडक कालोपत्रे हुन नसक्दा खर्च कम देखिएको खैरहनीका मेयर लालमणी चौधरीले बताउनु भयो । वडागत १६ वटा योजना समेत गत आर्थिक वर्षमा सम्पन्न हुन सकेन । १६ वटा मध्ये ६ वटा वडा खैरहनी ११ कै सम्पन्न नभएका हुन् ।
पत्रकार भेटघाटमा मेयर चौधरीले चालु आर्थिक वर्ष २०७६÷०७७ मा प्राथमिक स्वास्थ्य केन्द्र खैरहनीलाई स्तरोन्नती गरी १५ शैयाको अस्पताल संचालन गर्ने,आँखा अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाउने बताउनु भयो । जनप्रतिनिधि निर्वाचित हुनु अघि एक करोड रुपैया पनि आन्तरिक राजस्व संकलन नगरेको खैरहनीले २ वर्षको अवधिमा आन्तरिक राजस्व संकलनमा ठुलो फड्को मारेको मेयर चौधरीको भनाई थियो । गत आर्थिक वर्षमा खैरहनीले झन्डै साँढे १२ करोड रुपैया आन्तरिक श्रोतबाट राजस्व संकलन गरेको छ ।
एक वर्षको अवधिमा न्यायिक समितिमा ५१ वटा मुद्दा परेकोमा ४ वटा मुद्दा फछ्यौट भएको न्यायिक समिति संयोजक समेत रहेकी खैरहनीकी उपमेयर सुनिता थपलियाले जानकारी दिनु भयो । पत्रकार भेटघाटमा स्थानीय शिक्षा अधिकारी महेन्द्र पौडेल, वडाध्यक्षहरु, शाखा प्रमुखहरुले पत्रकारको जिज्ञासाको जवाफ दिएका थिए ।


