चितवन ५ साउन । रत्ननगर ९ कपरफोरी माविमा प्रधानाध्यापकसहित ५ जनाले विद्यालय भित्रै रक्सी खाएर बसेको भनी आएको प्रचार आफूहरुलाई नियोजित रुपमा फसाउन खोजिएको भन्दै आरोपीहरुले आपत्ती जनाएका छन् ।
विद्यालयमा मदिरा सेवनका विषयमा आरोपी ५ जनाले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरी आफूहरुलाई नियोजित रुपमा फसाउन खोजिएको जनाएका छन् । जारी विज्ञप्तिमा विद्यालयको भवन निर्माणको क्रममा रहेको र विगत केही महिनादेखि चोरीका घटना भएकाले सुरक्षाको लागि बसेको बेला बाहिरबाट मदिराका बोतल ल्याएर रक्सी खाएको भनि फसाइएको जनाएका छन् ।
आरोपीहरुले जारी गरेको प्रेस विज्ञप्तिमा निर्माणको क्रममा रहेको विद्यालयको भवनका सामग्री कुर्नको लागि राति सुतेको बेला रक्सीको बोतल ल्याएर राखी प्रहरी बोलाउने, भिडियो खिच्ने र चरित्रहत्या गर्न खोजिएको जनाएको छ ।
निर्माण कार्यमा जुटेका मजदुरहरु साउने संक्राती मनाउन घर गएको र सामग्री सुरक्षाको लागि विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सहायक प्रधानाध्यापक, लेखापाल, कार्यालय सहयोगी सुतेका अवस्थामा विना जाँचवुझ लछारपछार पारी प्रचार गरिएको भन्दै निष्पक्ष छानविनको लागि माग गरिएको छ ।
संयुक्त रुपमा विज्ञप्ति जारी गर्नेहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम बगाले, प्रधानाध्यापक विष्णु कट्टेल, सहायक प्रधानाध्यापक कृष्णविलास ढुंगाना, लेखापाल बालकृष्ण पौडेल, कार्यालय सहयोगी गोपालप्रसाद रिमाल रहेका छन् । असार ३१ गते राति मदिरा सेवन गरी विद्यालयमा होहल्ला गरेको भन्दै स्थानीयले जानकारी गराएपछि पाँचजनालाई राति ९ः३० बजे प्रहरीले नियन्त्रणमा लिएको थियो ।
विज्ञप्ति



