विप्लव समुहका उपत्यका इन्चार्ज सहित पाँचजना पक्राउ

काठमाडौं ५ साउन । नेपाल प्रहरीले राति विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज माईला लामालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट उनलाई प्रहरीले आइतबार मध्यराती पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाले लामा पक्राउको पुष्टि गर्दै उनलाई काँडाघारीबाट शनिबार राति १२ बजे हिरासतमा लिइएको बताउनु भयो ।

प्रहरीले लामासँगै विप्लवका अर्का कार्यकर्ता रेशम तामाङलाई पनि हिरासतमा लिएको छ लामामाथि केही महिनायता उपत्यकाको नख्खु अनामनगर र घट्टेकुलोमा भएका बम विस्फोटनका घटना गराउन निर्देशन दिएको आरोप प्रहरीले लगाएको छ ।

उपत्यकामा भएका विस्फोटमा ५ जना भन्दा धेरैले ज्यान गुमाएका थिए । फागुन १० गते नख्खुस्थित एनसेलको कार्यालयमा भएको विस्फोटमा एकजना मारिएका थिए भने घट्टेकुलो, सुकेधारामा जेठ ५ गते भएको विस्फोटमा ५ जनाले ज्यान गुमाएका थिए ।

जेठमा भएको विस्फोटपछि प्रहरीले लामाको खोजी गरिरहेको थियो । घटनालगत्तै प्रहरीले राजधानीबाट विप्लवका ४ जना कार्यकर्ता समातेको थियो । प्रहरीले खोटाङका मोतिधन राई, रोल्पाका भूपेन्द्र घर्ती, मोरङकी विन्दुकुमारी कुइँकेल र रुकुमकी सन्ध्यादेवी पुनलाई पक्राउ गरे पनि लामा फरार थिए । पक्राउ परेकाले लामाको नाम लिएका थिए ।

पक्राउ परेका लामाको घर काठमाडौँको नागार्जुन नगरपालिका स्थित डाँडागाउँ हो । लामा १० वर्षे जनयुद्धका क्रममा गम्भीर घाइते भएका थिए । उनी राम्ररी सुन्न सक्दैनन् भने आँखा पनि कमजोर छन् ।

जनयुद्धका क्रममा चर्चित सांस्कृतिक कलाकार उनी माओवादी विभाजित भएपछि सुरुमा मोहन वैद्यतिर लागेका थिए । तर वैद्य समूह पनि फुटेपछि उनी विप्लवमा पुगेका थिए ।

जनयुद्धका क्रममा कैयन गीत लेखेका उनी २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा उम्मेदवार पनि बनेका थिए । हाल नख्खु जेलमा रहेका स्थायी समिति सदस्य हेमन्तप्रकाश वलीपछि लामा पक्राउ पर्नेमा अर्का ठुला नेता हुन् ।

शेयर गरौ

ताजा अपडेट