चितवन ३ साउन । आरक्षणको माग गर्दै आएकाहरुले लोकसेवा आयोगको विज्ञापनलाई समावेसी बनाउनु पर्ने भन्दै संयुक्त संघर्ष समितिले आज भरतपुरमा प्रदर्शन गरेको छ ।
लोकसेवा आयोगले निकालेको विज्ञापन समावेसी नभएको भन्दै आन्दोलनमा उत्रेकाहरुको आज आन्दोलन गरेका हुन् । संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित असमावेशी विज्ञापन विरुद्ध चितवनका आदिवासी जनजाति, दलित र मुस्लिम संघ संगठनहरु चरणबद्ध आन्दोलनमा उत्रेका छन् ।
आन्दोलन अन्तरगत आज भरतपुरको चौविसकोठीमा भेला भएर विरोध ¥याली निकाली जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो । विज्ञापन समावेशी गराउनु पर्ने, संविधान कार्यान्वयन गर्नु पर्नेलगायत विभिन्न माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाइएको छ ।
विभिन्न जिल्लाहरुमा आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्ग, सीमान्तकृत, पिछडिएको क्षेत्र तथा विभिन्न राजनीतिक दलहरु र सम्बद्ध मोर्चाहरुको तर्फबाट आरक्षण बचाउ आन्दोलन हुँदै आएको छ । आज काठमाडौं लगायत देशैभरि धर्ना, जुलुससहित जनप्रदर्शन र विरोध सभा भएको छ ।


