वीरेन्द्र क्याम्पसमा अखिलका विद्यार्थी माथि कुटपिट एकजना घाइते, क्याम्पसमा तोडफोड

चितवन ३ साउन ।

वीरेन्द्र क्याम्पस भरतपुरमा नेविसंघका विद्यार्थी नेताको कुटाइबाट नेकपा निकट विद्यार्थी नेता घाइते भएका छन् ।

क्याम्पसमा पढाइ नभएको भन्दै अखिलका विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएपछि नेविसंघका विद्यार्थीले कुटेको वीरेन्द्र क्याम्पस अखिल इकाइ अध्यक्ष लिलाराम पौडेलले जानकारी दिनु भयो । पौडेलका अनुसार नेविसका नेता कुशल बास्ताकोटीको कुटाइबाट अखिलका नेता मिलन भट्टराई घाइते भएका हुन् ।
घाइतेको मनकामना अस्पताल भरतपुरमा उपचार भइराखेको छ । उनको टाउकोमा चोट लागेको छ ।

एक महिनादेखि पढाइ नभएको भन्दै आफूसहित क्याम्पस प्रशासनमा जानकारी गराउदा वेवास्ता गरेपछि सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको घाइते भट्टराइले जानकारी दिनु भयो । भट्टराइले भन्नु भयो ‘ताला लगाएपछि वार्तामा क्याम्पस प्रमुख गोविन्द सापकोटाले बोलाएर फर्के लगतै नेविसंघका नेता बास्ताकोटीले कुटेको हो ।’ मोटरसाइकलमा आएका दुइजना मध्य बास्ताकोटीले कुटेको र त्यहाँबाट भागेको घाइते भट्टराइले जानकारी दिनु भयो । हिजो अपरान्ह घटना भए लगतै घाइतेलाई अस्पतालमा भर्ना गरिएको थियो ।

फरक बिचारका विद्यार्थी बिच कुटपिट भएको क्याम्पस प्रमुख गोविन्द सापकोटाले जानकारी दिनुभयो । ‘आफ्नै अगाडि कुटपिट भएपछि छुट्टाएर पठाएको थिए ’ उहाले भन्नु भयो ‘दुइ विद्यार्थी बिच कुटपिट पछि आज बिहान सहायक क्याम्पस प्रमुखको कुर्सी बाहिर ल्याएर जलाए ।’ जलाउने तोडफोड गर्ने विद्यार्थीको पहिचान नभएको प्रमुख सापकोटाले बताउनु भयो । केही विद्यार्थीले बिहान कुर्सी जलाएका थिए ।

घटनामा सम्लग्न भएको विषयमा अनुसन्धान भइराखेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनु भयो । घटनाको विषयमा छानविन गरी आवश्यक कार्बाही अगाडि वढाउने उहाँको भनाइ छ ।

शेयर गरौ

ताजा अपडेट