चितवन समाचार डटकम
२ साउन ।
नारायणी नदीमा सञ्चालन गर्न निर्माणाधिन रहेको पानी जहाजलाई आज पानीमा राखिएको छ ।
पानी बाहिर राखेर निर्माण गर्दै आएको काम सकिएपछि आज पानीमा राखेर निर्माण कार्य शुरु गरेको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका व्यवस्थापकीय निर्देशक रामचन्द्र कडेलले जानकारी दिनु भयो । चारमहिना अगाडिबाट निर्माण कार्य थालेको कम्पनीले पानीमा राखेपछि जहाजलाई आउदो दशैंमा सञ्चालन गर्ने तयारी गरेको छ ।
तीनसय जना अटाउन सक्ने क्षमताको सानो आकारको ‘पानी जहाज’ निर्माणको लागि १५ फिट गहिरो पोखरी बनाइएको छ । भरतपुर महानगरपालिका वडा नं. १६ काभ्रेघाटमा बन्दै गरेको जहाज एकसय फिट लम्बाइ र २२ फिट चौडाइ रहेको निर्देशक कडेलले जानकारी दिनु भयो । वुटवलबाट ल्याएको विशेष प्रकारको दुइवटा क्रेनले आजदिनभरी लगाएर पानीमा झारेको थियो । भारतबाट आएका प्राविधिक र नेपालीहरु गरी ५० जना जनशक्ति निर्माण कार्यमा खटिएका छन् ।
जहाज पार्किङ गर्ने स्थान पोट निर्माणको लागि ५ करोड लगानी भइसकेको कडेलले बताउनु भयो । ‘सरकारको तर्फबाट गएको आर्थिक वर्र्ष एक करोड सहयोग गरेको थियो, बाँकी चारकरोड रुपैयाँ हामी आफैले लगानी गरेका छौ ’ कडेलले भन्नु भयो । ६ जना चितवनका युवाहरु मिलेर नयाँ काम गरौ भन्ने सोचेर यो काम गरेका हौ उहाले भन्नु भयो । युवाहरुले ज्ञानेश्वर सामाुदायिक वनको जग्गा भाडामा लिएर काम थालेको छ ।
सानो आकारको पानी जहाज निर्माणमा कम्तीमा १५ करोड रुपैया खर्च हुने अनुमान गरेको निर्माण कम्पनीले जानकारी दिएको छ । जहाज सञ्चालक कम्पनीका अनुसार तत्कालको लागि काभ्रेघाटदेखि देवघाटसम्म चलाउने अनुमती लिइसकेको छ । २५ किलोमिटरको दुरी रहेको यो जलयात्राका लागि जहाज हिड्ने बाटोसमेत अध्ययन गरेको कडेलले बताउनु भयो ।
दैनिक एकसय ५० जनासम्म हेर्न आउने निर्माण हुदै गरेको पानी जहाजको सुरक्षाको लागि बार लगाइएको छ । बाढीले असर नगरोस भन्दै गराइबाट फलामको मजवुद पिल्लर जडान गरेर सिक्रीले बाधेर राख्ने व्यवस्था गरिसेको छ ।
सिंगापुर र भारतबाट आएका प्राविधिकको टोलीले पुस महिनामा पानीको गहिराइको बारेमा अध्ययन गरेका थिए । त्यसपछि पनि अध्ययन भइराखेको उहाले बताउनु भयो । यहाँ निर्माण भइराखेको प्राविधिक कम्पनीले भारत, श्रीलंका, मलेसिया, दुवइलगायतका देशमा राम्रो जहाज निर्माण गरेर सम्मानित भएको दावी गरेको छ ।
तीनसय जना अट्ने पानी जहाजमा रेष्टुरेन्ट, सानो सेमिनार हलसमेत निर्माण हुने निर्देशक कडेलले जानकारी दिनु भयो । तीनघण्टाको यात्रा रहने यो जहाज पर्यटन प्रवद्धन गरी मनोरञ्जन प्रदान गर्ने मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ । काभ्रेघाटबाट चढेर देवघाट पुगी पुन काभ्रेघाट पुगेर यात्रा सकिने छ । जाहाज रोक्ने स्थान निर्माणमा ठुलो लगानी रहने भएकाले एउटा ठाँउमा मात्र पोट बनाइएको कम्पनीले जनाएको छ ।
पानीजहाज निर्माणमा सहजीकरण गर्दै आउनु भएका नेकपा नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भन्नु भयो ‘नेपालको लागि यो नयाँ हो तर असम्भव होइन, यसको प्रचारप्रसार भए नयाँ पर्यटकीय गन्तव्य बन्नेछ ।’ जंगल सफारी, सस्कृति अवलोकन, धार्मिक स्थलसंगै पानीजहाजको अनुभव चितवनमा नै लिन सकिने पाण्डेले बताउनु भयो । ‘याुवाहरुले पानी जहाज चलाउनु प¥यो भनेर सल्लाह लिन आउनु भएको थियो, मैले नै सहजीकरण गरेको थिए, अहिले सञ्चालनको अन्तिम तयारीमा रहेको छ खुसी लाग्यो ’ पण्डेले भन्नु भयो । यो सानो आकारको पानी जहाज सञ्चालनमा आएपछि पर्यटकको सख्या बृद्धि हुनेमा आफूले विश्वास लिएको बताउनु भयो ।
नयाँ सोचका साथ आएको योजनालाई प्रदेश सरकारले सहयोग गरेको छ प्रदेश सांसद कृष्णप्रसाद भुर्तेलले बताउनु भयो । ‘चालु आर्थिक वर्षमा पार्किङ स्थल निर्माणको लागि मेरो पहलमा २ करोड बजेट छुट्टाएको छु ’ सांसद भुर्तेलले भन्नु भयो ‘यो चितवनको मात्र होइन नेपालको लागि खुसीको विषय हो, पर्यटन वर्ष सफल बनाउन यसले पनि सहयोग गर्नेछ ।’


