चितवन १ साउन ।
३ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयले दश वटा जिल्लामा सवारी दुर्घटना न्यूनिकरण विशेष कार्यक्रम आजबाट शुरु गरेको छ ।
दुर्घटनाबाट मानिसक ज्यान जाने घटना बढेको भन्दै नियमितसंगै विशेष कार्यक्रम सञ्चालन गरेको हो । ३ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रमुख नविनराज राइले भन्नु भयो ‘प्रदेश कार्यालयको निर्देशनमा एकै दिन एउटै कार्यक्रम सञ्चालन हुने गरी अभियान शुरु भएको छ ।’ अभियानको ३ नं. प्रदेशका प्रहरी प्रमुख शेरबहादुर वस्नेतले वुधबार उद्घाटन गर्नु भएको थियो ।
अभियानको उद्घाटन गर्दै प्रहरी प्रमुख बस्नेतले भन्नु भयो ‘प्रहरीले चलाएको अभियानमा सबैको सहयोग चाहिन्छ, नागरिकले यसमा साथ दिनु पर्दछ ।’ अभियानले दुर्घटना कमी गर्नलाई सहयोग मिल्ने प्रहरीले विश्वास लिएको छ । ‘सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या हरेक वर्ष वृद्धि हुदै गएको छ’ प्रमुख बस्नेतले भन्नु भयो ‘दुर्घटना न्यूनिकरण गर्नको लागि शुरु भएको अभियान फलदायी हुनेछ ।’ दुर्घटनामा घाइते हुनेहरुको सख्या अझ दर्दनाक छ बस्नेतले भन्नु भयो ।
कार्यक्रमम उहाले भन्नु भयो ‘जनताको जीउधनको सुरक्षा प्रहरीले गर्ने हो, त्यसको लागि सक्षमपनि छ ।’ सुरक्षाको अभावमा विकास र समृद्धि आउन नसक्ने भन्दै वस्नेतले सुरक्षाको अनुभूति प्रहरीले गराउने महसुस जनताले गर्नु पर्ने बताउनु भयो ।
अभियान कार्यक्रममा साउन १ गते, प्रदेश ३ का १० वटा जिल्लामा मापसे चेकिङ हुदैछ । ३ नंं प्रदेश ट्राफिक प्रहरीको निर्देशनमा सबै जिल्लाले कार्यक्रम गर्नेछ प्रमुख राईले भन्नु भयो । जिल्लाका ट्राफिक प्रहरीले गर्ने नियमित कार्यक्रम बाहेक प्रदेशको निर्देशनमा यो काम एकै दिन हुनेछ ।
तीन महिने कार्यक्रम अन्र्तगत चालक सहचालकलाई ट्राफिक सचेतना सम्वन्धी कक्षा सञ्चालन, नागरिक, विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम, अनावश्यक सवारी साधनका झाल्लरहरु निकाल्ने, ठुलो आवाज निकालेर चलाएका सवारी साधनलाई कार्वाही यी सबै अभिायन अन्तरगर्त पर्ने प्रमुख राइले भन्नु भयो ।
अभियानको उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर मल्लले सवारी साधन, सडक र चालकको कमजोरीका कारण दुर्घटना वृद्धि हुने भएकाले यसलाई रोक्नु पर्ने बताउनु भयो । दुर्घटनाको कारण पत्ता लगाएर त्यसलाई सुधार गर्ने वातावरण सबैको तर्फबाट गर्नु पर्ने धारणा राख्नु भयो ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीले सवारीको चाप अनुसार सडकको अवस्था सुधार नभएकाले दुर्घटना बृद्धि भएको भन्दै चिन्ता व्यक्त गर्नु भयो । यात्रुले चालकलाई गर्ने व्यवहार सुधारमा पनि दुर्घटना कमी हुन सहयोग मिल्ने बताउनु भयो । निजि र सार्वजनिक सवारी साधन चलाउने चालकको लाइसेन्स अलगै व्यवस्था गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, प्याव्सन चितवनका सचिव मोहन लामा, लगायतले दुर्घटना न्यूनिकरणमा सबैको जिम्मेवारी रहेको बताउनु भएको थियो । साउनदेखि असोज मसान्तसम्म यो अभिायन चल्ने प्रहरीले जानकारी दिएको छ ।


