संसदको नियमित प्रक्रिया रोकेर सभामुखले फट्याइँ गरे : सभापति देउवा

काठमाडौ ३० असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नियमित प्रकृया रोकेर बाढीपहिरो पीडित र राहत उद्धार कार्यक्रमबारे छलफल गर्नुपर्ने प्रस्ताब बिपरित बैठक स्थगित गरेर सभामुखले फट्याईँ गरेको बताएका छन्।

बैठक स्थगित भएपछि सिंहदरबारमा पत्रकारहरुसंग कुरा गर्दै सभापति देउवाले भने, ‘यस्तो गम्भीर र विपदका बेला सबै एक हुनु पर्ने थियो। तर सत्तापक्ष त्यसका लागि इच्छुक देखिएन। सत्ता पक्षको आग्रहमा सभामुखले फट्याईँ गरे।’ यस्तो गम्भीर विषयमा छलफल गर्न नमान्नु अचम्म भएको उनको भनाई थियो।

संसदको नियमित प्रक्रिया रोकेर बाढीपीडितको राहत र उद्धारबारेमा छलफल गर्न डराएर सरकार भागेको सभापति देउवाले बताए। ‘हामीले नियमित प्रक्रिया रोकेर बाढीपहिरो पीडित र राहत तथा उद्धार कार्यक्रमबारे छलफल गर्न भनेका थियौँ। तर १० दिनसम्म संसद स्थगित गरेर सरकारले बदमासी गरेको छ’, उनले भने, ‘देशभरी बाढी आएको छ, पहिरो र डुबानले अर्बौँको क्षति भएका बेला जनता त्राहीमाम भएका छन्। यस्तो बेलाम सबै एकतावद्ध भएर जाऊँ भन्ने पक्षमा हामी थियौँ तर सरकारले संसद स्थगित गरेर भाग्यो।’

सभापति देउवाले बाढीपीडितको राहत कार्यक्रमलाई प्रभावकारी बनाउन आफूहरुले सबै दल एकैठाउँ उभिने वातावरण बनाउन संसदमा विशेष महत्वको प्रस्ताव दर्ता गरेको जिकिर गरे।

संसदको नियमित कार्यसूचिलाई थाँति राखेर सोमबारको बैठकमा बाढी–पहिरोका कारण भएको क्षति तथा त्यसमा भइरहेका प्रयासबारे छलफल गर्नका लागि मुख्य बिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुको मागलाई बेवास्ता गर्दै सभामुख कृष्णबहादुर महराले साउन ८ गतेसम्मका लागि संसद बैठक स्थगित गरेका छन्।

सोमबारको बैठकमा कांग्रेस र राजपाले संसदमा बाढी पहिरोबारे छलफल गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्तावसमेत दर्ता गरेका थिए। जुुन प्रस्ताबमा छलफल गर्न सत्तापक्ष तयार नभएपछि सत्तापक्षकै निर्देशनमा सभामुख महराले बैठक स्थगित गरेका हुन्।

शेयर गरौ

ताजा अपडेट