रत्ननगरको १४ नं. वडामा नगर स्वास्थ्य केन्द्र

रत्ननगर २९ असार । रत्ननगर नगरपालिकाले वडा नं १४ मा नगर स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ ।
वडा नं १४,१५ र १६ अन्तर्गत पर्ने पिठुवालाई लक्षित गरी सो वडा अन्तर्गत डुम्रीचोकमा स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको हो । स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै मेयर नारायण वनले स्वास्थ्य सेवाको पहुँचलाई नगरवासीको घरघरमा पु¥याउन नगर स्वास्थ्य केन्द्र सञ्चालन गरिएको बताउनु भयो । स्वास्थ्य सेवा पाउने नागरिकको अधिकार रहेको भन्दै उहाले यो अधिकारको भरपुर उपयोगको लागि स्वास्थ्य केन्द्र कोसेढुंगा सावित हुने बताउनु भयो ।
स्वास्थ्य सेवालाई सहज बनाउन नगरपालिकाले घरघरमै उपचार गर्ने कामको सुरुवात गरेको भन्दै उहाले आगामी वर्षबाट यसलाई अझ प्रभावकारी बनाउने बताउनु भयो । वडा अध्यक्ष हरिकुमार श्रेष्ठले वडाबासीको माग र चाहना बमोजिम नगर स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको बताउनु भयो । वडाबासीलाई केन्द्रविन्दु पर्ने गरी डुम्रीचोकमा नगर स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको बताउनु भयो ।
उद्घाटन कार्यक्रममा वडा नं १५ का वडा अध्यक्ष हुमनाथ लामिछाने,नगर प्रबक्ता राजेन्द्र हमाल, स्वास्थ्य शाखा प्रमुख इन्द्रलाल न्यौपाने,जागृती युवा क्लवका अध्यक्ष नुमनाथ रेग्मी, पिठुवा रेडक्रस समन्वय समितिकी प्रतिनिधि गीता देवकोटा, नेकपाका बासु लामिछाने, नेपाली काँग्रेसका कमलनाथ अधिकारी, र्सिजनशील महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष रिता अधिकारी लगायतले मन्तव्य राख्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट