काठमाडौं २९ असार । २०६ औं भानुजयन्तीको अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरिएको छ ।
भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उहाकै कद बराबरको अभिनन्दन पत्रमार्फत् सम्मान गरिएको हो । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्र प्रदान गरेर सम्मान गर्नु भएको हो ।
सम्मान कार्यक्रममा राष्ट्रकवि घिमिरेले आदिकवि भानुभक्त आचार्यले विश्वमा छरिएर रहेका नेपालीहरुलाई एउटा मालामा बाँध्ने काम गरेको बताउनु भयो ।
भानु प्रतिष्ठान, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, नेपाली साहित्य परिषद सिक्किम, असम नेपाली साहित्य सभा, नेपाली साहित्य परिषद, मणिपुर, नेपाल जनसांस्कृतिक मंच, कोलकोता, अखिल म्यान्मार देशीय हिन्दु धार्मिक संघ, म्यान्मारले भानुजयन्तीको अवसर पारेर राष्ट्रकवि घिमिरेलाई दोसल्लासहित अभिनन्दन पत्रद्वारा सम्मान गरिएको हो ।
भानु जयन्तीकै अवसर पारेर राष्ट्रकवि घिमिरे र उनकी पत्नी महाकाली घिमिरेलाई रथारोहण पनि गराइएको थियो । त्यस अवसरमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेलले भानु जयन्तीको अवसर पारेर राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गर्न पाउनु गर्वको विषय भएको बताउनु भयो । उहाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनु भएको राष्ट्रकवि घिमिरेको सुश्वास्थ्य र दीघार्यूको शुभकामना सन्देश पनि पढेर सुनाउनु भएको थियो ।
अभिनन्दनपछि राष्ट्रकवि घिमिरेले विश्वभरमा छरिएर रहेका नेपाली भाषीहरुले आफूलाई सम्मान गरेकोमा आभार व्यक्त गर्नु भयो । उहाले युग अनुसार नेपालीका बारेमा मात्रै सोच्ने कविको रुपमा भानुभक्त आचार्यलाई चित्रण गर्नु भयो ।


